नेपाल बन्दको प्रभाव : बाँकेको बैजनाथमा सरकारी गाडीमा तोडफोड

No description available.
गणेश रावत
कोहलपुर । नेपाल बन्दको प्रभाव कोहलपरमा पनि परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको बैजनाथमा आज बिहान एउटा सरकारी गाडीमा बन्दकर्ताले तोडफोड गरेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरकाअनुसार सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको स्कारपियो गाडीलाई बन्दकर्ताले तोडफोड गरेका हुन् ।

बैजनाथको वनकटुवा चोकमा लुकेर बसेका बन्दकर्ताले पूर्वबाट पश्चिम गइरहेको मन्त्रालयको सुदुरपश्चिम प्रदेश ०१—००१ झ ४०१ नम्बरको गाडीमा तोडफोड गरेका थिए । तोडफोडबाट गाडीमा सामान्य क्षती पुगेको छ । गाडीमा सवारहरुलाई भने कुनै चोट नलागेको स्थानीय प्रहरीले जनाएको छ ।

कोहलपुरमा के छ बन्दको अवस्था ?
नेपाल बन्दलाई प्रभावकारी बनाउनका लागि बन्दकर्ताहरु कोहलपुर चौराहा, कौशिलानगर, चपरगौडी इत्यादि ठाउँहरूमा उत्रिएका छन् ।

कोहलपुरमा बुधबार लामो दुरीका सवारी साधन चलिरहेका छैनन्। ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज छोटो दुरीका सवारी अटो रिक्सा, मोटरसाइकल मात्र चलिरहेका हुन् ।

नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस् भन्ने हेतुले बिहान ५ बजेबाट नै प्रहरी परिचालन गरिएको कार्यालयका डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

कोहलपुरमा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ भने शिक्षण संस्था पनि बन्द भएका छन् । यस्तै विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सञ्चालन नभएका हुन्। यस्तै पसल व्यवसायहरु पनि बन्द रहेका छन् ।

मंगलबार बाँकेमा सक्रिय ६ दलीय मोर्चाले एक विज्ञप्ती जारी गर्दै आज नेपाल बन्द गर्ने बताएको थियो । मोर्चाले एमसीसी संसदबाट पारित हुन लागेको र यो सम्झौताले देश संकटमा पर्न सक्ने भएकाले त्यसको विरोधमा नेपाल बन्द गर्न लागिएको जनाएको थियो ।

तपाईको प्रतिक्रिया