
छोरा घरीघरीको तिम्रो प्रश्नले
आज बोल्न विवश भएँ
किन जिद्दी गर्छौ बाबू
बाबा चाहियो भनेर ?
कसैको झुटो प्रेम बाट फालिएकी
तिम्रो पुरुषको नजरमा नपरेकी
कुमारी आमा हुँ म ।
थाहा छ यो समाजले
सोध्यो होला तिमिलाई
कस्को छोरा हौ ?
बाउ को हो ?
कसै कसैले भने होलान्
चरित्रहिन कुमारी आमाको
कुपुत्र भनेर तिमिलाई,
उनीहरुलाई यसरी जवाफ दिनु
मेरो छोरा –
“कुनै स्वार्थीको विश्वासघाती विर्य र
मेरि आमाको मायालु डिम्वको
समिश्रण हो यो देह ।”
थाहा छ तिमिलाई ?
म कस्तो भोगाइ भोगिरहेकी छु ?
नौ महिना गर्भमा हुर्काउँदाको
कष्टकर पलमा
आफन्तको तिरस्कार
प्रसव पिडाको दर्दनाक अवस्थामा
छि ! छि ! दुर्दुर सहदै
दुनियाँको श्राप शिरमा बोकि हिडेको
निर्दोष कैदी झैँ
अधिकांश घृणित नजरका सामु
कोही दयाका नजर लगाउने गर्छन
शिकारीको बाणले छट्पटाइरहेको
घाइते बाघ झैँ,
पहरा बाट खसी चक्नाचुर भई फुटेको
पत्थर जस्तै हुँ म
बाबु !
सङ्घर्ष के हो ?
तिमिलाई हुर्काउदा सिकेँ
आँसुको मुल्य चिनेँ
अभाव र दबाबको थिचोमिचोमा परी
रहर र सपनाहरू निमोठेर
बनावटी मुस्कान छर्न बाध्य छु ।
अजिङ्गरको मुखबाट निस्किएर
कहाली लाग्दो भिरमा पनि फुल
फुलाउन सफल त भएँ
तर कठिन कति रहेछ
तिमी सोच्न पनि सक्दैनौ
“आमा” बन्न नै एक जुनि फेर्नुपर्छ
अब आफै सोच छोरा
“कुमारी आमा” बन्न कति गाह्रो छ ?
















































। १५ माघ २०७८, शनिबार