नेकपा एमाले जाजरकोटको अध्यक्षमा कालु हमालको उम्मेदवारी घोषणा


खलंगा । नेपाल कम्यूनिष्ट पार्टी ( एमाले) जाजरकोटको अध्यक्षमा कालु हमालले उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत नेकपा एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका हुन् । २०५३ जेठ १० पार्टीको संगठनिक सदस्य बाट राजनीतिक यात्रा सुरु गरेका हमाल नेकपा एमाले जाजरकोटका प्रभावशाली नेता मानिन्छन् ।

हमालको राजनीतिक यात्रा

–२०५३ साल जेठ १० गते पार्टीको प्रथम जिल्ला अधिवेशन बाट सांगठनिक सदस्य बनेका थिए । २०५४ सालमा नेकपा एमाले विभाजन भई माले बनेको थियो ।

त्यसमा जिल्ला कमिटी सचिव हमाल बने । २०५९ सालमा पार्टी एकता भएपछि जिल्ला कमिटी सदस्य, २०६३ सालको तेस्रो जिल्ला अधिवेशन बाट जिल्ला कमिटी सदस्य, २०६६ सालको चौथो जिल्ला अधिवेशन बाट जिल्ला कमिटी उपाध्यक्ष र २०७१ सालको पाँचौं जिल्ला अधिवेशनमा पार्टीको साधारण सदस्यको रुपमा काम गरे ।

एमाले जाजरकोटमा लामो समयदेखि राजनीतिक अनुभव बटुलेका हमालले अहिले छैटौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवारी रहेको बताए । उनले भने, ‘पार्टीमा लामो समयदेखि लागियो, निरन्तर पार्टीलाई उचाईमा राख्ने प्राण गरियो, यस पटक जिल्ला अध्यक्षमा उम्मेदवारी रहेको घोषणा गर्दछु ।’

एमाले जाजरकोटको अध्यक्षमा आफु निर्वाचित भएमा पार्टी भित्रको गुटगद्द राजनीतिको अन्त्य गर्ने, पार्टीलाई जनतामाझ लोकप्रिय बनाउने, पार्टी भित्रका जनवर्गीय संगठनहरुलाई चलाएमान बनाउने, अवको स्थानीय तहको चुनावमा पार्टीलाई जिल्लाभर जिताउन पार्टी बलियो बनाउने, पार्टी कार्यालयको व्यवस्था गर्ने, आगामी दिनमा जाजरकोटी जनतामाझ नेकपा एमालेलाई लोकप्रिय पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे । सम्पुर्ण प्रतिनिधीहरुलाई भोट हालेर सहयोग गर्न समेत आग्रह गरेका छन् ।

एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशन भोली ( शुक्रबार) जिल्ला समन्वय समितिको सभा हलमा हुनेछ । दुई दिन चल्ने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेताहरुको दौडधुप समेत चलिरहेको छ ।

अध्यक्षका लागि खिमबहादुर शाही, करवीर शाही, नवराज सिंह, हेरम्बहादुर शाह, वेदबहादुर शाही समेत आकांक्षी देखिएका छन् । सर्वसहमत नेतृत्व चयन गर्ने समेत कसरत जारी रहेको छ ।

तपाईको प्रतिक्रिया