जुम्लाको तिला गाउँपालिकामा शिक्षक आवेदन शुल्क ५ हजार 

शिक्षाशास्त्र पढेर मात्र शिक्षक बन्न नपाइने
जुम्ला । यहाँको तिला गाउँपालिका–३ कुडारीस्थित सरस्वती प्राविधिक माविले शिक्षक आवेदन शुल्क पाँच हजार राखेर विज्ञापन गरेपछि त्यसको विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा रिक्त रहेका लेखा व्यवस्थापनसहित ६ शिक्षक पदको १५ दिनको अवधि राखेर विज्ञापन खुला गरेको छ ।

विद्यालयले प्राविधिक धार सहायक प्रशिक्षक र निमावि तहको शिक्षकका लागि ४÷४ हजार र मावि शिक्षकका लागि ५÷५ हजार आवेदन दस्तुर तोकेको छ । यद्यपि, बुधबार मात्र शिक्षक सेवा आयोगले खोलेको मावि तहको शिक्षकको विज्ञापनमा आवेदन दस्तुर एक हजार रुपैयाँ उल्लेख गरेको छ ।

उक्त विद्यालयले शिक्षक पदका लागि गरिएको विज्ञापनमा आवेदन दस्तुर शिक्षक सेवा आयोग विपरीत तोकिएको शिक्षा मन्त्रालयका शाखा अधिकृत जीवनबहादुर भण्डारीले बताए । ‘शिक्षक सेवा आयोगले प्रावि तहको ५ सय , निमाविका लागि ८ सय र माविका लागि एक हजार मात्र लिन्छ,’ शाखा अधिकृत भण्डारीले भने, ‘स्थानीय सरकार कता छ ? यो हदभन्दा बढी भएन र भन्या ?’

त्यस्तै, भानुभक्त माध्यमिक विद्यालय बारबर्दिया नगरपालिका–७ बर्दियाका प्रधानाध्यापक करबहादुर बस्नेतले ऐन, नियमावली विपरीत शुल्क तोक्न नहुने बताए । उनले कुनै पनि विद्यालयले मनोमानी तरिकाले शुल्क लिन नपाइने कानुनी प्रावधान रहेको प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जालमार्फत नै त्यस्ता विद्यालय प्रशासकलाई कारबाही हुनुपर्ने विचार व्यक्त गरे ।

शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले उक्त विद्यालयले तोकेको शुल्क मापदण्ड विपरीत भएको बताए । ‘डेढदेखि दुई वर्ष शिक्षक पद रिक्त हुँदा पनि त्यो विद्यालय समन्वय एकाइमा अनुमति लिन आएन,’ प्रमुख भण्डारीले भने, ‘उक्त विद्यालयले यसअघि अनुमति नलिएर नियुक्ति गरेका बीएस्सी एजी र तल्लो तहका शिक्षकको जागिर धरापमा छ ।’

सरस्वती प्राविधिक माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल गिरीले प्रधानाध्यापकको सल्लाहअनुसार आवेदन दस्तुर पाँच हजार र चार हजार राख्ने निर्णय गरिएको जनाए । उनले त्यस विषयमा प्रधानाध्यापकसँग बसेर पुनः विचार गर्ने प्रतिक्रिया दिए ।

प्रधानाध्यापक रामविलास यादवले आफूले नभई विद्यालय व्यवस्थापन समिति बसेर नै निर्णय गरिएको जिकिर गरे । ‘विज्ञापन भइसक्यो, अब के गर्ने ?’ प्रधानाध्यापक यादवले भने, ‘सामाजिक सञ्जालमा गइसकेकोले त्यसैअनुसार परीक्षा लिने त होला ।’ विद्यालयले १५ दिनको अवधि राखेको आवेदन दर्ता समय पुस ९ गतेसम्म छ ।

उक्त सूचनाले आवेदकलाई आकर्षितभन्दा विकर्षित हुन बाध्य बनाएको सरोकारवालाले उल्लेख गरेका छन् । २०७६ मंसिर १८ गते त्यहाँको विद्यालय व्यवस्थापन समितिले लेखापालको साढे ११ हजार तलबमा साढे १३ हजार बढाएर २५ हजार रुपैयाँ पु¥याउने जस्तो मनोमानी काम गरेको तिला–३ कुडारीका स्थानीयवासी मानबहादुर बुढाक्षेत्रीले सुनाए । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यस विषयमा आफूलाई केही थाहा नभएको र जानकारी पनि नदिइएको बताए । रासस

तपाईको प्रतिक्रिया