
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
शुक्रबार केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘हामीले कारबाही गरेका मान्छेलाई सभामुखले सूचना निकाल्नु भएन । अदालतले अहिलेसम्म यो मुद्दामा फैसला दिएको छैन। यो कुराको टुंगो नलागेसम्म संसद अवरोध जारी रहन्छ ।’
संसदको अवरोध हटाउन सभामुखले माधव नेपालसहित १४ सांसदको कारवाहीको सूचना टाँस गर्नु वा गल्ती स्वीकार गरेर राजीनामा दिनुको विकल्प नरहेको उनको भनाइ छ।
महासचिव पोखरेलले भने, ‘हामीले कारवाही गरेको १४ जनालाई सँगै राखेर हामी संसद अगाडि बढ्न दिदैनौँ। अब अदालतमा पनि मुद्धा विचाराधीन छ। अदालतको फैसला जे आए पनि हामी स्वीकार गरेरै अघि बढ्छौँ’
आफ्नो पार्टीको ध्यान अहिले संसदमा भएकाले अमेरिकी परियोजना एमसिसीबारे कुनै धारणा बनाइ नसकेको उनले बताए ।
‘सरकारले संसदमा एमसिसी पेश गरेको छैन। सरकारको तर्फबाट कस्तो प्रकृतिअनुसार आउँछ हामी हेछौँ’ उनको भनाइ छ ।
माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा मत मिल्ने दलसँग सहकार्य हुनसक्ने भएपनि अहिलेसम्म त्यस्तो कुनै वातावरण बनिनसकेको उनले बताए ।
‘हामी निर्वाचनपछिको मतपरिणमसँग डराउँदैनौँ। सक्रियतापूर्वक सहभागिता जनाउँछौँ। राष्ट्रियसभाको निर्वाचन आम निर्वाचनको जस्तो हुँदैन’ उनले भने ।
















































। २ पुष २०७८, शुक्रबार