कर्णालीमा १० लाखले लगाए खोप

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा झन्डै १० लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार १८ वर्षमाथिका १२ लाखमध्ये ९ लाख ८२ हजार ३ सय ८३ जनाले खोप लगाएका हुन् ।

प्रदेशमा १८ वर्षमाथिका २ लाख १७ हजार ६ सय १७ जनाले खोप लगाएका छैनन् । कुनै पनि मात्रा नलगाएका र पहिलो मात्रा लगाएका गरी प्रदेशभर ६ लाख ९ हजार १ सय १७ जनालाई खोप लगाउन बाँकी रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो समय प्रदेशका सबैजसो स्वास्थ्य संस्थाहरूबाट खोप दिने व्यवस्था मिलाइएको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले बताए । ‘केही ठाउँमा अझै पनि थोरै संख्याले मात्रै खोप लगाएका छन्,’ उनले भने, ‘अब खोपको पहुँच कम भएका स्थानमा प्राथमिकता दिइनेछ ।’

कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी डोल्पामा खोप लगाइएको छ । डोल्पामा २८ हजार २ सय ११ लक्षित जनसंख्यामा १७ हजार १ सय ५४ जनालाई खोप दिइएको छ । जाजरकोटमा सबैभन्दा कम नागरिकले खोप लगाएका छन् । त्यहाँ ७० प्रतिशत नागरिक खोपबाट वञ्चित छन् । जाजरकोटमा कुला जनसंख्याको ३० प्रतिशतले मात्रै खोप लगाएको केसीले जानकारी दिए । उनका अनुसार कालीकोटमा अहिलेसम्म ३४ हजारले पहिलो मात्रा र २३ हजार जनाले दुवै डोज खोप लगाएका छन् ।

कर्णालीभरि १२ देखि १८ वर्ष उमेर समूहका २ हजार ९८ जनालाई फाइजर खोप दिइएको छ । कात्तिक २८ देखि मंसिर ८ सम्म उक्त खोपको पहिलो मात्रा लगाइएको र मंगलबारदेखि दोस्रो मात्रा दिइने निर्देशनालयले जनाएको छ ।

१२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी मोडर्ना खोप लगाउने तयारी थालिएको केसीले बताए । उनका अनुसार सुर्खेतका विद्यार्थीलाई यसअघि नै फाइजर खोप दिइसकिएकाले अन्य ९ जिल्लामा उक्त उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइनेछ । ९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने निर्देशनालयको तयारी छ । विद्यार्थीले उक्त खोप पुस ४ देखि १४ गतेसम्म लगाउन पाउनेछन् । २०६१ मंसिरदेखि २०६६ सालसम्म जन्मेकालाई यो खोप दिन लागिएको हो । १२ वर्ष उमेर पुगेका र १८ वर्ष ननाघेका बालबालिकाले मात्र खोप पाउने छन् ।

तपाईको प्रतिक्रिया