उपल्लो डोल्पा : चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

                                         तस्वीर : हेमन्त केसी
जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रूपैयाँ पर्छ।

उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा मसिनो मूल्य ७ हजार, मोटा ५ हजार र सोना मन्सुली ५ हजार ६ सय रूपैयाँमा कम्पनीले उपलब्ध गराउँदै आएको छ।

सुर्खेतदेखि धोसम्मको चामल ढुवानी भाडा प्रतिकेजी ६५ रूपैयाँ, धारगाउँ ५६ रूपैयाँ र सालदाङमा ९० रूपैयाँ ढुवानी भाडा लाग्दै आएको छ।

सबैभन्दा बढी सालदाङमा चामल पुर्‍याउन प्रतिक्विन्टल ९ हजार रूपैयाँ ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रतिक्विन्टल ७ हजार रूपैयाँ छ। जबकि ढुवानी भाडा चामलको मूल्यभन्दा २ हजार बढी छ।

निजी क्षेत्रबाट बिक्री गर्ने चामलमा ३० केजी चामललाई धोमा ६ हजार रूपैयाँ पर्छ भने तिन्जेमा ७ हजार रूपैयाँ पर्ने गरेको डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताए। ७ हजार रूपैयाँ तिरेर पनि खाद्यान्न पाउन नसकेको उनले बताए।

हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको समेत ढुवानी रोकिएको छ। ढुवानीको ठेक्का लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा अहिले समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए।

५ सय क्विन्टल कोटा रहेको शे-फोक्सुण्डोको सालदाङमा अहिलेसम्म १ सय ८० क्विन्टल चामल मात्र पुगेको छ।

डोल्पोबुद्ध गाउँपालिकाको धोमा ५ सय क्विन्टल कोटा रहेकोमा चामल ढुवानी गर्ने ठेक्का लिएको ओम जयदुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायाले अहिलेसम्म ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ। त्यहाँ अहिले हिमपात भएकाले ढुवानी गर्नसमेत मुस्किल छ।

त्यस्तै छार्काताङसोङ गाउँपालिकाको धारगाउँमा ढुवानीको ठेक्का लिएको नमुना ढुवानी सेवाका चेतकुमार शाहीले पनि अहिलेसम्म चामल त्यहाँ पुर्‍याएका छैनन्। त्यहाँ पनि ५ सय क्विन्टल चामल ढुवानी गर्नुपर्ने छ।

यी सबै ठाउँमा भएका बिक्री केन्द्रहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनीका हुन्। कम्पनीले तल्लो डोल्पाको जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५ सय क्विन्टल, जुफालमा ३ सय ६० क्विन्टल र दुनैमा ५ सय १० क्विन्टल चामल मात्र ढुवानी गरेको छ।

सजिलै ढुवानी हुने ठाउँमा मात्र कम्पनीले चामल पुर्‍याएको छ भने उपल्लो डोल्पामा अहिलेसम्म यस आवमा एक गेडा चामल पनि पुगेको छैन।

ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो।

सदरमुकाम दुनैमा चामल टन्न छ भने उपल्लो डोल्पामा खाद्यान्न ढुवानी नहुँदा निकै समस्या भएको धोका पेमा गुरुङले बताए।

उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाईमार्गबाहेक अन्यमा सम्भावना नरहेको सर्वसाधारण बताउँछन्।

ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पावासी मर्कामा परेको गुरुङले बताए। उपल्लो डोल्पाका ३ पालिकाका अधिकांश बस्तीमा उवा वर्षमा एक पटक मात्र फल्छ भने केही ठाउँमा मात्र गहुँ फल्छ।

अत्यधिक चिसोका कारण वर्षमा एक बाली मात्र पाक्ने गरेको हो। एक बालीले ३ महिना पनि खान नपुग्ने स्थानीय बताउँछन्।

जडीबुटीको भण्डार मानिने उपल्लो डोल्पाको अधिकांश भूभाग शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले घेरिएको छ। पशुपालन र जडीबुटी उपल्लो डोल्पाको आम्दानीको स्रोत हुन्।

सोही आम्दानीबाट नै खाद्यान्नदेखि अन्य सबै गर्जो टार्नुपर्ने उपल्लो डोल्पावासीको बाध्यता छ। जनजातिको बाहुल्यता रहेको यहाँ चीनको सिमाना नजिक भएकाले सीमारक्षकका रुपमा समेत आफूलाई उभ्याउँदै आएका छन्।

चिनियाँ नाका हुँदै खाद्यान्न ढुवानी हुँदै आएकोमा २ वर्षदेखि चीनको बाटो कोभिडका कारण बन्द भएपछि दुनैबाट नै चामल ढुवानी गर्नुपर्ने बाध्यता छ।

वर्षमा १५ दिनको लागि हाटबजार खुल्ने गरेको चीन र नेपालतर्फको सिमाना कोभिडका कारण २ वर्षदेखि खुलेको छैन।

सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकेजी ९० रूपैयाँमा खाद्य व्यवस्थाले चामल लैजाने गर्छ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म ८८ देखि सय रूपैयाँमा ढुवानी गर्ने गर्छन्।

तपाईको प्रतिक्रिया