
सुर्खेत । नेपाली काँग्रेसको कर्णाली प्रदेश प्रथम अधिवेशन अन्तरगत अहिले मतदान शुरु भएको छ । प्रदेश राजधानीको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा नयाँ नेतृत्वको लागि मतदान शुरु भइको हो । मतदानका लागि १२ बजे समय निर्धारण गरे पनि प्राविधिक समस्याका कारण एक घण्टा ढिलागरी मतदान शुरु भएको छ ।
मतपत्र छपाईमा ढिलाई हुँदा मतदान समय एक घण्टापछि सरेको हो । सभापति पदमा त्रिपक्षिय भिडन्त भएको छ । सभापतिमा संस्थापन पक्षबाट ललितजंग शाही, विमलेन्द्र निधिबाट मोतिराज बम र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भुपेन्द्रजंग शाही चुनावी मैदानमा छन ।
यस्तै, प्रदेश उप–सभापति दुई पदका लागि दुई जना उपसभापतिका लागि कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् । यस्तै महामन्त्रीमा निरन्जन केसी, कृष्णबहादुर रोकाया, कृष्णकुमार विसी र खगेन्द्रबहादुर मल्लको उम्मेदवारी परेको छ । विधानअनुसार दुई जना प्रदेश महामन्त्री हुने व्यवस्था छ ।
दुई जना खुलातर्फको सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्यायले मनोनयन दर्ता गरेका छन् भने एक जना महिला सहमहामन्त्रीका लागि रामछायाँकुमारी शाही र देवीकाकुमारी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । सबै पदमा गरेर एक सय २४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि ७ सय ५० प्रतिनिधिले मतदान गर्ने छन् ।
















































। १८ मंसिर २०७८, शनिबार