जो माओवादीमा निरन्तर लागिरहे….

No description available.
कालीबहादुर नेपाली
जाजरकोट । १२ बर्षको चकचके केटो परिवर्तन (क्रान्ति) का लागि यूद्धमा होम्मिएको इतिहास सायद कमै छन् । तर बारेकोट गाउँपालिका ४ का तिलकबहादुर रावत (शुशील) उमेरले १२ काट्दै थिए । स्थानीय निकायको निर्वाचन २०४९ को राजनीतिक प्रभाव र स्कुले जीवन बाटै राजनीतिक यात्रा शुरु गरे ।

उनले शुरु गरेको राजनीतिक यात्रा संगै २०५२ साल फागुन १ गते बाट माओवादी जनयूद्धको सुरुवात भयो । जनताको जीवनस्तर बदल्ने, तत्कालिन राज्य व्यवस्थाको विकल्प खोज्ने र जनवादी व्यवस्थाको विकास गर्न माओवादी जनयूद्धको थालनी भयो । त्यही जनयूद्धले तिलकलाई पनि परिवर्तनको बिगुल फुक्न सहयोग ग¥यो ।

त्यसपछि निरन्तर माओवादी पार्टीको तह र तप्कामा रहेर काम गरिरहे । उनले भने, ‘विद्यार्थीको तत्कालिन अनेरास्ववियूको छैटौँ मावि स्तरीय कमिटीको कोषाध्यक्ष, २०५२ सालमा सुरु भएको जनयुद्धको वेला तत्कालिन वाईसेलको वडा कमिटी अध्यक्ष, पार्टी सेल कमिटीको सदस्य, २०५३ गाउँ कमिटी सदस्य, २०५४ मा पार्टी ऐरिया कमिटी सदस्य, २०५६ तत्कालिन माओवादीको एरिया कमिटी सेक्रेटरी, अनेरास्ववियू क्रान्तिकारीको जिल्ला कमिटी सदस्य , २०५८ मा पार्टीको जिल्ला कमिटी सदस्य, २०६१ मा तत्कालिन माओवादी भेरी कर्णाली राज्य कमिटी सदस्य एवं जनयुद्ध बलिदान संघको भेरी कर्णाली संयोजक, २०६२÷०६३ को जनआन्दोलनमा दैलेखको नेतृत्व ।

देश शान्ती प्रक्रियामा गईसकेपछि २०६४ को संविधान सभाको निर्वाचनमा १ ÷२ सम्म राज्य कमिटी सदस्य । २०७० सालमा भएको प्रतिनिधी सभाको निर्वाचन सम्पन्न हुदै गरेको अवस्थामा पार्टीको तत्कालिन केन्द्रिय कमिटीको सदस्य (महाधिवेशन आयोजक कमिटी ) को सदस्यको जिम्मेवारीमा रहेर राजनीतिक गतिविधी सञ्चालन । २०७१ साल देखि यताको सात वर्षमा दुई ठुला कम्युनिष्ट पार्टीको एकता पछि हाल जिल्ला कमिटी सदस्य एवं बारेकोट गाउँकमिटी सह— ईन्चार्ज पदमा रहेर जनताको सेवामा लागिरहेको छु ।’

माओवादी पार्टी भित्र ईमान्दार, जनताको प्यारो र कर्मठ नेताका रुपमा परिचित उनी २०७४ सालमा सम्पन्न बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा १९ पदले पराजित भएका थिए । माओवादी जनयूद्धका वेला शाही सेनाले उनको हातमा गोली समेत हानेका कारण उनको दाइते हातका सबै औंला काटिए । तर परिवर्तन र क्रान्तिको विगुल फुक्न निरन्तर लागि रहेका छन् । उनले भने, ‘हामी संगै लागेका कतिले पार्टी परित्याग गरेका छन्, तर हामी निरन्तर पार्टीको विचार र सिद्धान्तमा टेकेर काम गरिरहेका छौ । कहिल्यै पार्टी छोड्नै छैनौं ।’

उनी जस्तै, भेरी नगरपालिका २ तिमिलेकी जयकला वली माओवादी जनयूद्धमा होम्मिदा जम्मा १६ बर्षकी थिइ्न । उनका वुवा तत्कालिन जनमोर्चामा आवद्ध भएका कारण उनलाई राजनीतिकमा होम्मिन सजिलो भयो । उनले भनिन्, ‘म सोह्र बर्षकी थिए, माओवादी जनयूद्धमा लागे ।’ ‘त्यतिवेला गाउँका सुराकीहरुले यो माओवादी हो, माओवादीका कार्यक्रममा हिडिरहेकी छ भनेपछि २०५५ साल कात्तिक ५ गते पाँचकाटिया प्रहरीले मलाई गिरफ्तार ग¥यो उनले भनिन्, त्यहीवेला गाउँका साँक्षीहरुले माओवादी होइन् भनेपछि उनीहरुको रोहवरमा मलाई छोडियो ।’

एक बर्ष सम्म प्रहरी चौकीको तारिख भोगिरहेको पीडा अहिले पनि आँखामा विजाईरहन्छ । एक बर्ष तारिखपछि पनि माओवादी आन्दोलन र क्रान्तिलाई भुल्न सकिन् । २०५६ सालमा पार्टीको डुब्लु. टी. बने । २०५६ सालमै पार्टीको सदस्य समेत भएँ । मोडेल जिल्लाको ईलाका कमिटी सदस्य, जिल्ला कमिटी सदस्य समेत भए । १० बर्षे जनयूद्ध नेपाली जनताको परिवर्तनका लागि हो भन्दै गाउँगाउँमा जुलुस, नारा सहित पार्टीको कार्यक्रममा व्यस्त भए ।

म सांस्कृतिक टीम बाट आएका कारण संस्कृतिले यहाँको जनजीविका बोल्छ, संस्कार बोल्छ भन्दै निरन्तर लागिरहे । कयौं रात खाना नखाएर भोकै बसियो, रातारात हजारौं माईलको यात्रा गरियो । यहिवेलाको समयमा तत्कालिन शाही नेपाली सेनाको गोली खाएर कयौं सहयात्रीहरु गुमायौं । आफ्नै आँखा अगाडि सहयात्रीको प्राण पर्दा मलाई लाग्थ्यो हामी बाँच्दैनौ । एक मनले हामी बाँच्दैनौ भन्थ्यो, एक मनले अव क्रान्तिको बाटो छोड्नुहुदैन् भन्दै पार्टीको स्कुलिन मार्फत परिवर्तन ( क्रान्ति) का नारा लगाई रह्यौं । त्यसपछि २०५८ सालमा अखिल नेपाल महिला संगठन मार्फत समाजका कुरीति, कु संस्कार, अन्धविश्वासलाई प्रास्त पार्न निरन्तर हिडियो ।

२०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको हत्यापछि गाउँगाउँमा समेत माओवादीलाई प्रहरीले निशाना बनायो । हरेक दुःख, कष्टका साथ १९ दिने जनआन्दोलन सम्म हामी पुग्यौ । जनताको परिवर्तनका लागि कति जिन्दगीको निशाना समेत मेटिन्छकी भन्दै मनमा डरको पोका राखेर यूद्धमा सामेल भयौ । जनआन्दोलन पछि २०६३ सालमा शान्ति सम्झौता भयो । २०६४ सालमा भएको निर्वाचनमा माओवादी पार्टी देशको ठूलो दल बन्यो । अहिले नेकपा माओवादी केन्द्र जाजरकोटको जिल्ला कमिटी सदस्य, महिला संगठनको कार्यकारी पदमा रहेर पार्टीको काम गरिरहेकी छु ।

आन्दोलनमै जनवादी विवाह
२०५९ सालमा माओवादी जनयूद्ध निकै चर्किएको थियो । यूद्धको रापले ताकिएको परिस्थितिमा सबै संग माया, प्रेम र स्नेह हुन्छ भन्ने भनाईलाई जयकला र तिलकको जोडीमा जोडियो । उनीहरुले २०५९ सालमा पार्टी भित्रै जनवादी विवाह गरे । बारेकोटका तिलक र भेरीकी जयकला विच जीवनभरी संगै सहयात्रा गर्ने भनी सम्झौता भयो ।

जयकलाले भनिन्, ‘त्यतिवेला यूद्धको प्रभाव बढीरहेको थियो, उहाँले तिमीलाई मन पराउछु भनेपछि मैले पनि हजुरलाई मन पराउँछु भने ।’ त्यतिवेला पार्टी भित्रै जनवादी विवाह गर्ने चलन थियो । हामीले पनि जनवादी विवाह ग¥यौ उनले थपिन् ।
‘जनयूद्धको वेला अहिलेका बारेकोटका रोकायगाउँ, रामीडाँडा, सक्ला, नायकवाडाका वडाहरुमा विवाह गरिसकेपछि त्यतै पार्टीले जिम्मेवादी दियो त्यसपछि हामी निरन्तर पार्टीमा खटियौ तिलकले भने, २०६१ सालमा पहिलो सन्तानको रुपमा छोरीको जन्मभयो, रोकायगाउँको एउटा गोठमा छोरी भईन् ।’ पार्टीमा लागेपछि हाम्रो घर थिएन्, कहाँ बस्ने कहाँ खाने, श्रीमति भर्खरकी सुत्केरी मन साह्रै रुने गर्दथ्यो तर परिवर्तन हुन्छ किन हामी नलाग्ने भनेपछि निरन्तर लागिरहे ।

‘अहिलेको परिवर्तन देखेर हामी खुशी छौ’
माओवादी जनयूद्ध नभएको भए अहिलेको राजनीतिक परिवर्तन हुने थिएन् । ‘अहिलेको संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्था आउने थिएन्, गाउँगाउँमा सिंहदरवार समेत स्थापना हुने थिएन् । यो सबै व्यवस्था आउन माओवादी जनयूद्धको देन भएकोले अहिले हामी निकै खुशी छौ तिलकले भने, ‘अहिले आएको राजनीतिक व्यवस्थाले आम जनताको जीवनमा परिवर्तन आएको छ, यसले श्रमजीविको ज्यालाको समेत परिवर्तन ल्याएको छ ।’

त्यसैले हामी जस्ता थुप्रै जोडीहरुले जनयूद्धमा सहभागी भई नलडेको भए आज हामीले संघीय लोकतान्त्रिक व्यवस्था देख्न पाउने थिईनौं । हरेक परिवर्तनका लागि, जनताको जीवनस्तर सुधारका लागि यूद्ध लडेको समेत तिलकले बताए । हामीलाई लाग्छ अहिले भएको परिवर्तन मात्रै माओवादी जनयूद्धको एजेण्डा हुन भन्न सकिदैन, अरु थुप्रै कुराहरु परिवर्तन हुन बाँकी छ । अव माओवादी आन्दोलनले विगतमा भएका बाँचाहरु थुप्रै छन् तिनीहरुलाई मात्र सम्बोधन गर्न सके एकदमै राम्रो हुने थियो ।

तपाईको प्रतिक्रिया