कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरूको भ्रमण खर्च मात्रै १ करोड ३६ लाख

सुर्खेत । कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ वर्ष ८ महिना १२ दिन सरकारको नेतृत्व गरे । कार्तिक १५ गते राजीनामा दिने क्रममा ‘इमानको राजनीति’ चर्चा गर्दै उनले आफ्नो कार्यकालका भएका प्रगतिको फेहरिस्तसमेत प्रस्तुत गरे । तर, पिछडिएको भनिएको प्रदेशमा उनकै कार्यकाल अन्तर्गतको ४० महिनामा मुख्यमन्त्रीदेखि मन्त्रीहरूको भ्रमण बापतमात्रै १ करोड ३६ लाख ४३ हजार ४६४ रुपैयाँ खर्च भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार २०७४ साल फागुन महिनादेखि २०७८ असार मसान्तसम्म भ्रमण खर्चबापत मात्रै सरकारको १ करोड ३६ लाख ४३ हजार ४६४ रुपैयाँ सकिएको छ ।

प्राप्त विवरण अनुसार पहिलो वर्ष अर्थात् ०७४ फागुन महिनादेखि ०७५ असार मसान्तसम्म पाँच महिनाको अवधिमा ६ लाख २ हजार २ सय रुपैयाँ खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निकालेको मन्त्रालयगत खर्च विवरण अनुसार सो अवधिमा तत्कालीन भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेकी विमला केसीले सबैभन्दा धेरै १ लाख ४८ हजार २२५ रुपैयाँ भ्रमणमा खर्च गरेकी छन् ।

केसीपछि तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले १ लाख २९ हजार ३ सय, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ९२ हजार ६ सय, तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले ९० हजार ४२५, तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ७२ हजार ४२५, भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले ६४ हजार ७२५ र सबैभन्दा कम तत्कालीन सामाजिक विकास मन्त्री दल रावलले ४ हजार ५ सय रुपैयाँ भ्रमणमा खर्च गरेका छन् ।

तपाईको प्रतिक्रिया