मेला हेर्न गएका एक युवकको हत्या, ६ जना पक्राउ

                                                      फाईल फोटो

खलंगा । मेला हेर्न गएका जाजरकोटमा एक युवकको हत्या भएको छ । भेरी नगरपालिका ३ स्याला निवासी १८ बर्षिय प्रकाश जंग शाहको हत्या भएको हो । पश्चिम रुकुमको  सानीभेरी १ बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको हत्या भएको हो ।

भेरी नगरपालिका १ रावतगाँउ तथा कोलचौरका केही युवाहरु र मृतक शाह सहितका साथीहरु सँग विवाद भएको थियो । विवाद बढ्दै जाँदा उनीहरु विच गत मंसिर ३ गते मेलामै हात हालाहाल समेत भएको थियो । केही वेर पछि मिलापत्र गरेका उनीहरु विच बेलुका पुनः झगडा भएको थियो । झगडा परेपछि अन्य साथीहरु भागेर ज्यान बचाउन सफल भएपनि प्रकाश घर नफर्केपछि खोजी तलासी गर्दा तीन दिन पछि भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न संलग्न भएको आरोपमा मेलामा विवाद गर्ने मध्यका भेरी नगरपालिका १ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ । त्यस्तै भेरी नगरपालिका १ कालेगाँउका दिनेश केसी र कुशे २ घर भई भेरी १ रावतगाँउ बस्ने केश बहादुर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु सवैलाई अदालतबाट म्याद थपाएर घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए ।

घटनाको प्रकृति, लासको पोष्र्टमार्टम रिपोर्ट र कलडिटेलका आधारमा अनुसन्धान अघि बढाइने डिएस्पी थापाको भनाई छ । घटनाबारे बुझ्नका लागि नियन्त्रणमा लिईएका अन्य ५ जनालाई सामान्य सोधपुछ पछि छोडिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया