
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दैे उनले आगामी निर्वाचनममा चितवन क्षेत्र नम्बर ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे । भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष प्रचण्डले यसलाई अझ उचाइमा पु¥याउनका लागि आफ्नो उम्मेदवारी रहने बताए ।
गत निर्वाचनमा चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उनले दाबी गरे। भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो। उनले भने‚ ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ ।’
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताइन्। यी क्षेत्रमा चार अर्ब रुपैयाँको लगानी हुने उनको भनाइ थियो। किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताइन् ।
















































। ७ मंसिर २०७८, मंगलवार