भुरचौरमा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, चार घाइते


खलंगा । जिल्लाको भेरी नगरपालिका १० भुरचौरमा आज (मंगलबार) विहान ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । विहान ११ बजेको समयमा भुरचौर देखि फेरा जाँदै गरेको भे १ च ८२१५ नम्बरको ट्याक्टर सडकको मोडमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार, ट्याक्टरमा सवार भेरी नगरपालिका १० भुरकी २७ बर्षिका गीता वुढाको उपचारका क्रममा नेपालगञ्ज लिदै गर्दा सल्लीबजारमा मृत्यु भएको छ ।

मृतको टाउको र दाइते हातमा गम्भीर चोट लागेको थियो । यस्तै, घाइते हुनेमा भेरी नगरपालिका १० बस्ने ४० बर्षिया जैकला बुढा, सोही ठाउँको २२ बर्षिया कालिदास राना, मृतक गीता वुढाकी १२ बर्षिया छोरी तुल्छी बुढा, सल्यानको वनगाड कुपिण्डे दह नगरपालिका बस्ने २५ बर्षिया संगिता शर्मा घाइते भएका छन् ।

घाइतेहरुमा जैकला र कालिदासको टाउकोमा चोट भएका कारण अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अरु दुईजना तुल्छी र संगीताको अवस्था समान्य रहेको छ ।

भुरचौर देखि फेरा पानी लिन ट्याक्टर गईरहेको बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाईएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया