
सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा धुव्रकुमार श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
श्रेष्ठलाई आइतबार प्रदेश प्रमुख परियारको उपस्थितिमा उच्च अदालत सुर्खेतको कायमुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीले पद तथा गोपनियताको शपथ खुवाए । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले बताए । उनका अनुसार श्रेष्ठले आइतबार नै पदभार ग्रहण गरेका छन् ।
२०१५ सालमा जन्मिएका श्रेष्ठ २०४८ सालदेखि अधिवक्ताको रुपमा क्रियाशील छन् । कानुनशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा झन्डै ६ वर्ष अध्यापन गराएका थिए ।
















































। २८ कार्तिक २०७८, आईतवार