पोखरा । अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका हुन् ।
‘गलत क्रियाकलापका विरुद्धमा आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस्। मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्।’ उहाँले भन्नुभयो ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ ।’
देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गरे ।
सरकारले पहिलोपटक गरिबहरुलाई सम्झेर अतिविपन्न परिवारहरुलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवसलगायतका लोकहितकारी निर्णय गरेको उनले जानकारी दिए ।
सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरुमा आम संचार प्रतिष्ठान गठन सम्बन्धी विधेयकहरू पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम संचालन गर्नको लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए। उनले अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिए ।
यसैबीच नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्ताहरुसँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुखसमेत रहनुभएका नेता शर्माले सरकारले जनताको पक्षमा गरेका राम्रा कामहरुको प्रचार प्रसार गरी त्यसलाई संगठन विस्तारमा लगाउन निर्देशन दिए ।
सरकारले गरिबको पक्षमा, विरामीको पक्षमा, दलितको पक्षमा, महिलाको पक्षमा, शहीद परिवारको पक्षमा, घाइते अपाङगता भएकाहरुको पक्षमा अभूतपूर्व काम गरेको भन्दै उहाँले ती कामहरुलाई पार्टी संगठन निर्माणमा उपयोग गर्न आग्रह गरे ।
















































। २७ कार्तिक २०७८, शनिबार