गोकुल बाँस्कोटाको अदालत जाने बठ्याइँ

गोकुल बाँस्कोटा

मनोज सत्याल
काठमाडौं,सेक्युरिटी प्रेस खरिदमा कमिसन खान बार्गेन गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले उक्त अडियोबाट आफ्नो बेइज्जती भएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन्।

अडियोमा स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग कमिसनको मोलतोल गरेका बाँस्कोटा आफैं अदालत किन गए भन्ने प्रश्न उठेको छ।

संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरूले यसलाई बाँस्कोटाको बठ्याइँ र ध्यान मोड्ने प्रयासका रूपमा अर्थ्याएका छन्।

बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा ‘अडियो टेप आफूलाई राजनीतिक, चारित्रिक तथा सामाजिक रूपमा बदनाम गर्ने उद्देश्यले बदनियत र योजनाबद्ध रूपमा सिर्जना गरिएको’ उल्लेख गरेका छन्।

वरिष्ठ अधिवक्ता शम्भु थापा अडियोमा बाहिर आएजस्तो संवाद मिश्र र बाँस्कोटाबीच भए-नभएको अहिलेको मूल विषय हो भन्ने जिकिर गर्छन्।

‘उनले पदीय हैसियतले नसुहाउने कुरा बोलेका छन्। रकम दस्तुरको दावा गरेका छन्। त्यो हो कि होइन भन्ने मूल कुरा हो,’ थापाले सेतोपाटीसँग भने, ‘घुस माग्ने अधिकार र खुवाउँछु भन्ने अधिकार कसैलाई छैन। अनि त्यो छाप्यो भन्नु गैरकानुनी हो। जसरी मैले कुनै न्यायाधीशलाई घुस खुवाउँछु र दिन्छु भन्ने अधिकार हुँदैन, त्यस्तै कमिसन खान्छु र कमिसन बढाऊ भन्ने अधिकार पनि हुँदैन।’

अदालत जानु बाँस्कोटाको अधिकार भए पनि उनले जिकिर गरेजस्तो कमिसन मागेको विषयले मानहानी नहुने थापा तर्क गर्छन्।

संविधानविद् भीमार्जुन आचार्य पनि अपराधसँग सम्बन्धित विषयमा गोपनीयता र गाली-बेइज्जती नहुने बताउँछन्।

‘जुन संवाद बाहिर आएको छ, त्यो कानुनले निषेध गरेको विषयमा छ,’ आचार्यले भने, ‘अपराधको विषयमा नपर्नेबारे संवाद गरेका भए, निजी कुरा भएको भए, गोपनीयता र मान-प्रतिष्ठामा आघात पुर्‍याउने वा निजी मूल्य-मान्यताका कुरा भएको भए अर्कै हुन्थ्यो। अहिले बाहिर आएको अडियोमा जीवनको गरिमा र प्रतिष्ठाको कुरा देखिन्न। विशुद्ध सरकारी ओहोदालाई दाउमा राखेर गरिएको वार्तालाप देखिन्छ।’

बाँस्कोटा सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले उनले गर्ने संवादले गाली-बेइज्जती पुष्टि नहुने आचार्यको भनाइ छ।

‘उहाँको निजत्वमा असर पर्ने काम गरेको भए, प्रतिष्ठामाथि हमला भएको भए एउटा अवस्था हुन्थ्यो,’ आचार्यले भने, ‘उहाँलाई निजी जीवन संरक्षण गर्ने अधिकार छ, तर यहाँ राज्य र सरकार दाउमा राखेर कमिसनको कुरा गरेको देखिन्छ।’

बाँस्कोटाले अदालतमा मुद्दा दायर गरेर विषयान्तर गर्न खोजेको आचार्यले टिप्पणी गरे।

सेक्युरिटी प्रेस खरिदमा मूल्य बढाएर कमिसन व्यवस्था गर्न बाँस्कोटाले कुराकानी गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो। उक्त विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बाँस्कोटाको अडिओबारे छानबिन गरिरहेको छ।

बाँस्कोटाको विषयमा बिहीबार पार्टी कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत टिप्पणी गरेका थिए। उनले बाँस्कोटाको अडिओ टेपको विश्वसनीयतामा प्रश्न उठाएका थिए। अडिओ सार्वजनिक गरेका मिश्रलाई उनले ‘अनाडी’ संज्ञा दिएका थिए। त्यसको भोलिपल्टै बाँस्कोटाले अदालतमा मुद्दा दायर गरेका हुन्।

‘बाँस्कोटा सार्वजनिक पदमा बसेका व्यक्ति हुन्, अडियोमा कमिसनको वार्तालाप छ। मुद्दा दर्ता गर्ने विषय उहाँको निजी हो, तर यहाँ गाली-बेइज्जती देखिन्न,’ आचार्यले भने, ‘उनले विषयान्तर गर्न खोजेका होलान्।’

बाँस्कोटाले अडिओ सार्वजनिक भएलगत्तै पदबाट राजीनामा दिएका थिए। त्यो अडियोको संवाद उनको नभएको भए राजीनामा दिनुपर्ने दरकार पर्दैन थियो। आफ्नो नक्कली अडियो प्रस्तुत गर्दैमा कसैले राजीनामा गर्दैन।

‘यो फर्जी अडियो हो, मेरो आवाज होइन छानबिन गरिपाउँ’ भन्न बाँस्कोटाले पनि सक्थे। आजसम्म उनले किटेर अडियोको आवाज आफ्नो होइन भन्न सकेका छैनन्। राजीनामा दिइसकेपछि विषयान्तर गर्ने, आममानिसलाई भ्रममा पार्ने र सम्भवत: छानबिन प्रभावित पार्ने उनको उद्देश्य हुन सक्छ। गोलमटोल विषय उठाएर अदालत गएपछि अरू अनुसन्धान प्रभावित वा स्थगित गर्न सकिन्छ भन्ने उनको दाउ हुन सक्छ।

वरिष्ठ अधिवक्ता थापा भने मुद्दा दायर भए पनि उनीविरुद्ध छानबिन नरोकिने बताउँछन्।

‘अदालत जान पाइँदैन भन्ने होइन,’ थापाले भने, ‘अदालत गएकै कारण अनुसन्धान प्रभावित हुँदैन।’

अधिवक्ता योगेन्द्र अधिकारीले प्रधानमन्त्रीलाई प्रयोग गरेर बाँस्कोटाले आफूलाई निर्दोष प्रमाणित गर्न खोजेको आरोप लगाए। अदालतबाट बाँस्कोटाको स्वर परीक्षण हुनेमा पनि उनले शंका व्यक्त गरे।

‘दुई दशकअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘प्रष्फुटन’ पत्रिकाका सम्पादकलाई ‘लात्ताले खाँदेर बाहिर निकाल’ भन्नुभयो भनेर मुद्दा परेको थियो। पत्रिकाका सम्पादकले गाली-बेइज्जतीमा मुद्दा हालेका थिए,’ अधिकारीले भने, ‘त्यति बेला अडियोलाई प्रमाणका रूपमा अदालतमा पेस गरिएको थियो। स्वर परीक्षण गर्ने विषय उठेको पनि थियो, तर अगाडि बढेन।’

अहिले पनि मन्त्री बाँस्कोटाको स्वर परीक्षण गाह्रो रहेको अधिकारीको जिकिर छ। अदालतले अडियोलाई गाली-बेइज्जती मुद्दामा प्रमाण मानेर परीक्षण गर्न मानेन भने उनले कमिसन मागेको विषयमा पनि स्वर परीक्षण नहुन सक्छ। त्यसले अडियो प्रकरण नै फासफुस पार्न सक्छ।

‘उहाँले आफूलाई निर्दोष सावित गर्न अदालत गएजस्तो देखिन्छ,’ अधिकारीले भने, ‘बाँकी मुद्दाको पक्ष र विपक्षबाट पेस हुने प्रमाणले पुष्टि गर्ने कुरा हो।’

यसरी बाँस्कोटा न्याय खोज्नभन्दा बठ्याइँपूर्वक आफूलाई अडियो प्रकरणबाट छुटकारा दिलाउन अदालत गएको अधिवक्ताहरूको आशंका छ।

तपाईको प्रतिक्रिया