स्थानीय तहले आफू खुशी किताब एजेन्ट थप्दा गोदाममै झगडा

डोल्पा : यहाँका स्थानीय तहले आफू खुशी किताब एजेन्ट थप गर्दा किताब वितरणमा समस्या हुने गरेको छ। ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिकालगायतका स्थानीय तहले प्रत्येक वर्ष नयाँ एजेन्ट थप गर्दा किताब वितरणमा समस्या हुने गरेको हो।

पुराना एजेन्टसँग सहकार्य नै नगरी स्थानीय तहले एजेन्ट थप गर्दा किताब वितरणमा समस्या हुँदै आएको जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख रवीन्द्रकुमार श्रेष्ठले बताए। ‘अनुहार नै नदेखेका एजेन्ट फागुनमा एक्कासी कार्यपालिकाको बैठकले तोकेको क्षेत्र र पुरानो एजेन्टका क्षेत्रका समेत किताब चाहियो भन्दै आउँछन्, पुराना एजेन्ट फेरि आफ्नो क्षेत्रका किताब आफैँ उठाउने भन्दै धर्ना कस्छन्, कसलाई किताब दिनु ठूलो समस्या हुने गरेको छ’ श्रेष्ठले भने।

उनले यस्ता घटना प्रत्येक वर्ष हुने गरेको बताए। उनले प्रत्येक वर्ष एजेन्ट फेरिँदा गोदाममै हात हालाहालकोको अवस्था आएको पनि उनले बताए। ‘एजेन्ट किताब गोदाममै पुगेर हात हालाहालसम्म गर्न पछि पर्दैनन्, हरेक वर्ष यस्तै रमिता देख्नुपर्छ, बल्ल-तल्ल सम्झाएर किताब बाँड्नु पर्छ’ उनले भने। नयाँ पुरानो कुन एजेन्टले किताब उठाउने भन्ने विवादका कारण पनि किताब गोदाममै थन्किने र कर्णालीमा किताब पुग्न ढिलाइ हुने गरेको उनको भनाइ छ। निजी प्रकाशनका कर्मजारीको अनुभव पनि जनक शिक्षा सामग्री केन्द्रका कर्मचारीको जस्तै छ।

प्रत्येक वर्ष एजेन्ट गोदाममै आएर झगडा गर्ने गरेको नयाँ मुलक प्रकाशन प्रालिका अध्यक्ष मेघराज वलीले बताए। उनले किताब एजेन्टकै कारण समयमै गोदामबाट किताब नउठ्ने गरेको बताउँदै किताब उठाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस ल्याउनु पर्ने बताए। यो वर्ष जे जस्तो भए पनि अर्को शैक्षिक सत्रका लागि जिल्लामै सल्लाह गरेर मात्रै किताब ढुवानीका लागि नेपालगञ्ज आउन जनक शिक्षा र निजी प्रकाशनले किताब एजेन्टलाई अनुरोध गरेका छन्। यता, स्थानीय तहले प्रत्येक वर्ष नयाँ एजेन्ट थप गरेर कर्णालीमा किताब ढुवानीमा पनि राजनीति गरेको पुराना एजेन्टको आरोप छ।

यस वर्षका लागि ठूलीभेरी नगरपालिकामा पर्ने सौगात स्टेसनरीका प्रोपराइटर गोपाल शाहीबाहेक अरू सबै एजेन्टले कक्षा १ देखि १० सम्मका किताब उठाइसकेका छन्। नेपालगञ्जबाट किताब उठाएका अधिकांस एजेन्टले कक्षा १ बाहेक कक्षा २ देखि १० सम्मको किताब आफ्नो क्षेत्रमा पुर्‍याएर विद्यार्थीलाई वितरण गरिसकेको शिक्षा विकास तथा समन्वय इकाई डोल्पाले जनाएको छ। कक्षा १ को किताब नेपालगञ्जबाट उठिसके पनि डोल्पामा भने अझै पुगेको छैन। डोल्पामा फागुन १ गतेदेखि सुरु भएको नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका ८ हजार ६ सय सेट किताब पठाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया