बारेकाेटका पहिरो पीडितको पीडा : पन्ध्र महिना वित्यो, चुहिने त्रिपालमुनी अझै बास

तीर्थ बोहरा

बारेकोटका पहिरो पीडितको पीडा : अभाबै अभावमा चुहिने त्रिपालमुनीको बास
चारैतिर झाडि, बायाँ तर्फ वर्षातको भेल उर्लेर आउने सानो खोला गाउँ माथी अब खस्ला जस्तो चट्टान । यही भिरालो जमिनमा अवस्थित छ सार्की टोल ।
बारेकोट गाउँपालिकामा पर्ने सार्की टोल पुरै दलित जातिको वसोवास रहेको छ । प्राकृतिक सुन्दरता र जैविक विविधताले यति सुन्दर यो गाउँ अहिले भौतिक र मानसिक रुपमा पनि क्षतविक्षत् अवस्थामा छ । २०७७ असार २५ गतेको भिषण पहिरोले यो गाउँमा ल्याएको विपत्तिले यसको सुन्दर र भौतिक बनावटलाई नै घायल बनाएको छ ।  यसले सिंगो गाउँलाई नै मानसिक रुपमा घाइते बनाइदिएको छ ।

यस्तै अवस्थामा छ बारेकोट गाउँपालिकाको ४ नम्बरकै तलगाउँ र ६ नम्बर को धुमा यी दुइवटै वडामा एकै दिन, फरक समयमा गएको पहिरोमा परेर १४ जनाको ज्यान गएको थियो भने सयौं घरपरिवार पूर्णरुपमा विस्थापित भएका छन् । पहिरोमा परेर ज्यान गुमाएका त गए नै जीवित रहेका उनीहरुका आश्रित घर जग्गा गुमाएर विस्थापित बनेकाहरुको अवस्था अहिलेसम्म पनि अत्यन्त दयनीय छ । चुहिने पाल मुनि दिन विताइरहेका पहिरो पीडितहरु सकसमा छन् । उनीहरुका आँखामा आफन्त र सम्पत्ति गुमाउनु पर्दाको पीडा अझैसम्म पनि छचल्किइरहेको छ ।

भएको जग्गा जमिन, दुःख गरेर आर्जेको घर परिवार र ओतलाग्ने घर समेत पहिरोमा परेर बगेपछि बारेकोटका बिस्थापित घरपरिवार सुरक्षित मानिएको अग्लो ठाउँ र जङ्गल नजिकको बस्तीमा पाल टाँगेर बसेका छन् ।

गत बर्ष सरकार, मनकारी व्यक्ति र देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरुले दिएको सहयोगका सहारामा दुःखका दिन काटिरहेका बिस्थापितहरु यो बर्ष भने कतैबाट कुनै सहयोग नपाएको र चुहिने पालमुनी बर्षा काटेको गुनासो पोख्छन् ।  पहिरोमा आफ्ना चार सन्तान गुमाएकी सार्की टोलकी ७२ वर्षीया दुधी सार्की भन्छिन् ‘चार सन्तानको सास त दैवले चुड्यो, बाँकी बचेका सबैको चुहिने पालमुनिको बास र थापेको गासमा चलिरहेको छ ।’

उनले चुहिने पालको बासबाट कहिले मुक्ति पाइएला भनेर सुस्केरा हालिन् । रातीको समयमा पहिरो छिचोल्दै ज्यान बचाउन सफल बारेकोटका पहिरो पीडित राहतभन्दा पनि जतिसक्दो चाँडो पुनर्वासको माग गरिरहेका छन् ।

पहिरोले घर बास उठाएको १५ महिना बितिसक्दा पनि बारेकोटका पहिरो पीडितहरुको पुनर्वासको प्रबन्ध हुन सकेको छैन । साँघुरो पालभित्र ८÷९ जना जाहान परिवारको साथमा असजिलो गरी बस्नुपर्दा पीडितहरु निसास्सिएका छन् । यसरी बस्न थालेको पनि १५ महिना बढी भएको छ । #जीखबर#

तपाईको प्रतिक्रिया