जाजरकोटी लोक सर्जक अधिकारीको निधन


खलंगा । जाजरकोटी लोक सर्जक तथा नेपाल शिक्षक महासंघ संघीय कार्यसमितिका अर्थ उपमहासचिव शेरबहादुर अधिकारीको निधन भएको छ । २०१८ सालमा जाजरकोट जिल्लाको पजारुमा जन्मिएका अधिकारीको काठमाण्डौ सिभिल हस्पिटलमा ६० वर्षको उमेरमा उपचारका क्रममा गएराती निधन भएको हो ।

केही समय अघि कोरोना संक्रमण भएपछि अधिकारीलाई सिभिल हस्पिटल भर्ना गरिएको थियो । स्वर्गीय अधिकारी शिक्षक भएपनि बहुप्रतिभाका धनी थिए । पेशाले शिक्षक भएपनि लोक संस्कृति संरक्षणमा उनको ठुलो योगदान छ । स्वर्गीय अधिकारी देउडा गीतमा विशेष दखल राख्थे ।

उनले रचना गरेर आफै गाएको लौ साली जुत्ता ल्याउ माया यता देउडा गीत निकै लोक प्रिय छ । साथै उनी नेपाली साहित्यका अन्य विधामा पनि निरन्तर कलम चलाउँदै आएका थिए । पछिल्लो समय उनी विभिन्न अनलाईनमा लेख, गीत, कविता, गजल, नाटक र लघु कथामा सक्रिय रुपमा कलम चलाउँदै आएका थिए ।

अधिकारीले सिभिल हस्पिटलको बेडबाटै लेखेर पठाएको कविता केही दिन अघि लालआवाज अनलाइनमा प्रकाशित भएको थियो । स्वर्गीय अधिकारीका ३ छोरा र २ छोरी छन भने जीवन संगिनी शारदा अधिकारीको यस अघि नै मृत्यु भई सकेको छ ।

तपाईको प्रतिक्रिया