महिना नबित्दै बसाइँ सरे राउटे


सल्यान । कालीमाटी गाउँपालिका–५ काल्चेबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्ती सारेको एक महिना नबित्दै लोपोन्मुख राउटे समुदाय फेरि सल्यानमा फर्केका छन् । उनीहरू सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–११ स्थित भेरी नदी किनारमा बसाइँ सरेका हुन् ।

कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्दै आएको समयमा चार जनाको मृत्यु भएपछि गुर्भाकोटमा बस्ती सारेका थिए । लामो समय दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटेहरू काल्चे, गुर्भाकोट हुँदै अहिले नदी किनारमा सरेका हुन् । उनीहरूले पछिल्लो पल्ट भदौ ७ गते बसाइँ सारेका थिए ।

एक साताअघि बालुवासंग्रहीस्थित भेरी नदी किनारमा आएका उनीहरू धमाधम बासस्थान बनाउन व्यस्त छन् । यो पटक जाजरकोट जान बस्ती सारेको राउटे मुखिया सूर्यनारायण शाहीले बताए । ‘अहिले कुनै घटना भएर बस्ती सारेका हैनौं,’ उनले भने, ‘तर गुर्भाकोटमा सिमसार क्षेत्र बढी भएकाले नसुक्ने देखियो ।’ राउटे समुदायले यसअघि बसिरहेको ठाउँमा कसैको मृत्यु भए मात्र बसाइँ सार्ने गरेका थिए । भेरी किनारमा दसैंसम्म बसेर पुरानो बस्ती भएको ठाउँ जाजरकोट सर्ने राउटेहरूको योजना छ ।

दसैं नजिकिएसँगै आफूहरूलाई खाद्यान्न अभाव हुन थालेको मुखिया शाहीले बताए । एक महिनाअघि सेना र जिल्ला प्रशासन कार्यालयको पहलमा राउटे बस्तीमा खाद्यान्न वितरण गरिएको थियो । तर त्यो खाद्यान्न सकिएको उनले जानकारी दिए । ‘दसैंमा प्रत्येक घरमा दुईवटा खसी चाहिन्छ,’ उनले भने, ‘भएको खाद्यान्न पनि सकिन थालेको छ ।’

राउटेहरूले ३ महिनाको अवधिमा ५ ठाउँमा बसाइँ सारेको राउटे समुदायमा खटिएका स्वास्थ्यकर्मी विनोद बीसीले बताए । उनका अनुसार पछिल्लो समयमा राउटेलाई उपयुक्त बासस्थानको समस्या छ । ‘अत्यधिक मदिरा सेवनले अधिकांश राउटे बिरामीजस्तै देखिन थालेका छन्,’ उनले भने, ‘पछिल्लो समय चिसोका कारण पनि उनीहरूमा स्वास्थ्य समस्या देखिएको छ ।’ अहिले राउटे समुदायमा ४६ परिवारका १ सय ४२ जना छन् ।

नदी किनारमा बस्न खोज्दा स्थानीयले अवरोध गरेपछि सहजीकरण गरेर बसोबासको व्यवस्था मिलाइएको बन्गाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले बताए । ‘उनीहरूलाई खाद्यान्न र आवश्यक बन्दोबस्तीका सामग्रीको व्यवस्था नगरपालिकाले गर्नेछ,’ उनले भने, ‘अब उनीहरूले चाहेजति समय भेरी नदी किनारमा बस्न पाउनेछन् ।’

तपाईको प्रतिक्रिया