स्थानीय तहको प्राथमिकतामा नपरेको ‘पञ्चेवाजा’

                                                                         फाइल फाेटाे
जाजरकोट । कुनै वेला विवाह, व्रतवन्ध, शुभकार्यका लागि बजाईने पञ्चेवाजा लोप हुने अवस्थामा छन् । आज भन्दा २० बर्ष पहिले जाजरकोटका गाउँगाउँमा पञ्चेवाजा विना कुनै काम हुदैन्थ्ये । तर आज पञ्चेवाजा विहेमा समेत प्रयोग हुदैनन् ।

पञ्चेवाजा संरक्षणका लागि जिल्लाका सात वटै स्थानीय तहकोे चासो देखिएको छैन । कुनै स्थानीय तहले वाजा संरक्षणका लागि भनेर बजेट विनियोजन गर्ने तर अर्के काममा प्रयोग गर्ने देखिएको छ । नाममा पञ्चेवाजा, काममा अर्कै खर्च गर्ने प्रवृतिले पञ्चेवाजाको अस्तित्व मेटिन्छकी भन्ने चिन्तामा रहेको लामो समय देखि बाजा बजाउने समुहका जानकारहरु बताउँछन ।

नेपाली लोक संस्कृति झल्किने जिल्लाको प्रसिद्ध पञ्चेवाजा लोप हुने खतरामा परेको छ । आधुनिकता सँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिँदा अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको हो । दुई दमाहा, दुई टयाम्को, नरसिंहा, सनाई, मजुरा, झ्यालिसँगै राखेर बाजाहरु मिलाएर कम्तीमा पनि १० र ११ जनाको समूहले बजाउने बाजाहरु विगतको जस्तो अहिले विरलै देख्न र सुन्न पाइन्छ ।

एकै किसिमका पोसाक लगाएर बाजाको तालसँगै लामबद्ध तरिकाले नाचिने हुनाले जिल्लामा बाजाको रौनक तथा नाच निकै रमाइलो मानिन्छ । यो बाजा बजाउने समूहमा एकजना मुख्य नाइके हुन्छन् भने अन्य दश जना सहयोगीका रुपमा रहन्छन् । पञ्चेबाजालाई यहाँको मौलिक वाजाका रुपमा लिइन्छ । बाजा लोप हुँदै जान थाले पनि बाजा संरक्षणमा कसैले पनि पहल नगरेको बारेकोट गाउँपालिका २ ध्यारगाउँका धने परियारले बताए । विगतमा कुनै शुभ साइतमा यो बाजा प्रर्याप्त मात्रामा खोज्ने गरिन्थ्यो तर अहिले यो प्रचलन कमै मात्रमा रहेको कारण संस्कृति नै लोप हुने खतरा बढेको जुनीचाँदे गाउँपालिकाका अमृत परियारको भनाई छ ।

पञ्चेबाजा लोप हुँदै जान थालेपछि यी बाजा बजाउनेहरु पनि अन्य आधुनिक बाजा बजाउने तथा नयाँ पेशालाई अँगाल्न थालेको स्थानीय बूढापाकाहरु बताउँछन् । जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले पुरानो चिनारीका रुपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने बताए ।

बजारमा भित्रिएका आधुनिक बाजा तथा संस्कृतिका कारण अहिलेका पुस्ताले पञ्चे तथा नौमती बाजा अँगाल्न नखोज्दा यसले प्राथमिकता नपाएको हो । जिल्ला सात वटै स्थानीय तहका गाउँघरमा पहिला पहिला बजाइने यो बाजा आधुनिक बाजा भित्रिएपछि लोप हुने खतरामा परेको हो । लोक संस्कृति तथा पञ्चेवाजाको जर्गेना गर्न सके यहाँको विकासमा टेवा गुग्ने जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया