२८ भाद्र २०७८, सोमबार

वक्तृत्वकला र चित्रकला प्रतियोगिताको आयोजना गरी बालदिवस मनाईने


खलंगा । जाजरकोटमा यस बर्षको बालदिवसको अवसरमा माद्यामिक विद्यालय स्तरीय वक्तृत्वकला र आधारभुत स्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरी मनाईने भएको छ । आईतबार भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीको संयोजत्वमा बसेको वैठकले उक्त निर्णय गरेको हो ।

प्रत्येक बर्ष भाद्र २९ गते मनाईने बालदिवसमा कोरोना महामारीले प्रभाव पारिरहेको वेला समेत बालवालिकाको क्षमतामा वृद्धि हुने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको नागरिक समाजका अध्यक्ष राजेन्द्र विक्रम शाहले बताए ।

वक्तृत्वकला प्रतियोगितामा ‘कोरोना महामारीले बालबालिकामा पारेको असर’ विषयक वक्तृत्वकला सञ्चालन हुनेछ । यस्तै आधारभुत विद्यालय तर्फ हुने चित्रकला प्रतियोगितामा बालमैत्री विद्यालयको तस्विर प्रतियोगिहरुले बनाउनुपर्ने यूवा जागरण मञ्ज जाजरकोटका अध्यक्ष सहदेव बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरुस्कार २ हजार, दृतिय पुरुस्कार १५ सय, तृतिय पुरुस्कार १ हजार र सान्त्वना पुरुस्कार ५ सय रहेको छ । भेरी नगरपालिका, बहुआयामिक विकास मञ्च, सामाजिक विकास कार्यालय जाजरकोट र यूवा जागरण मञ्जको साझेदारीमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।

भेरी नगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरको सहभागिता रहनेछ । बिसं २०२१ साल भाद्र ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । उतिबेला भाद्र ४ गते बाल दिवस मनाउने चलन थियो । तत्कालिन रानी रत्न राज्यलक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणका क्रममा त्यता महात्मा गान्धीको जन्मदिवसमा बाल दिवस मनाइने र उक्त दिन सामाजिक रुपमा थुप्रै कामहरु हुने गरेको चालपाएपछि वहाँले नेपाल आएर भाद्र ४ गते राष्ट्रिय बाल दिवसको शंखनाद गर्नुभयो । रत्न राज्यलक्ष्मीदेवी शाहको जन्मदिवस पारेर भाद्र ४ लाई बाल दिवस बनाइने चलन शुरु भयो । यसरी भाद्र ४ गते पारेर नेपालले ४२ वटा बाल दिवस मनायो र अन्तत बिसं २०६३ देखि चाँही गणतान्त्रिक पथमा लम्कन खोज्दै गरेको नेपालले भाद्र २९ लाई बाल दिवस का रुपमा स्थापित गर्याे ।