वन्यजन्तु संरक्षणमा जंगल चहार्दै

May be an image of 1 person and barred owl
जाजरकोट । गोविन्दबहादुर सिंह जिल्लाको विकट मानिने बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् । उनी प्रत्येक शुक्रबार घाँटीमा दूरबिन र क्यामेरा भिर्दै झोलामा बास बस्ने सरसामान जोहो गरी जंगलतिर निस्कन्छन् र आइतबार बिहान मात्र कार्यस्थल पुग्छन् ।

निजी सोखमा उनले प्रकृतिका केही नयाँ तथ्य बाहिर ल्याउने काम गरिसकेका छन् । जस्तो कि, गत वर्ष उनले नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जंगलमा सुनगिद्ध र सेतोगिद्धको जोडीले चल्ला कोरलेको पत्ता लगाएका थिए । विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएका ती गिद्धको संरक्षण पनि उनकै व्यक्तिगत खर्चमा भइरहेको छ । बारेकोट विश्वमै दुर्लभ वन्यजन्तु र पंन्छी पाइने क्षेत्र हो । बारेकोटमा १ सय ८६ प्रकारका विभिन्न जडिबुटीसँगै रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, कस्तूरी लगायतका लोपोन्मुख वन्यजन्तु र पन्छीको बासस्थान छ ।

उनले आफ्नै खर्चमा लोपोन्मुख वन्यजन्तुको संरक्षण मात्र गरेका छैनन्, चोरीसिकारी पनि नियन्त्रण गरिरहेका छन्  । दुई वर्षको अवधिमा उनले सिकारीले थापेका २ सय ५६ वटा पासा चुँडाले । ‘स्थानीयवासी र सिकारीले मोटरसाइकलको ब्रेकको तारलाई पासो बनाएर कस्तूरीलगायतका विभिन्न वन्यजन्तु हिँड्ने डोरेटोमा राख्ने गरेका छन्,’ उनले भने, ‘फेला पारेका पासाहरू जिल्ला वन कार्यालयमा बुझाइरहेको छु ।’ उनले प्रतिपासा ४ सय रुपैयाँसम्म दिएर गोठालाबाट पासा संकलन गरिरहेको जानकारी दिए ।

सिंहले गत साताको बिदाको समय सदुपयोग गर्दै बालबालिकाहरूले चरा मार्न प्रयोग गर्ने ३ सयभन्दा बढी गुलेली संकलन गरेका छन्  । सेपुखोला, लपेस, सिर्के लगायतका पसलमा बेच्न राखिएका र व्यक्तिसँग भएका गुलेलीहरू ३५ देखि ५० रुपैयाँ सम्ममा खरिद गरेको सिंहले बताए । ‘बालबालिकाबाट फेरि गुलेली नकिन्ने र चरा नमार्ने सर्तमा गुलेली खरिद गरेको हुँ,’ उनले भने, ‘अहिले गाउँमा गुलेलीको प्रयोग न्यून भएको छ ।’

सिंहले एक वर्षमा सिकारीले घाइते बनाएका झन्डै १ सय वन्यजन्तु र गिद्धको उपचार पनि आफ्नै खर्चमा गरेका छन्  । सिंह जाजरकोट मात्रै हैन, कार्यालयमा काम नभएको मौका पारी कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लाका लेकहरू चहार्न पुग्छन्  । उनले जाजरकोटमा रेडपाण्डा, चिरकालिज र सुनगिद्धका वासस्थानहरूको अध्ययन समेत गरेको छन्  ।

उनको अध्ययनपछि बारेकोटलाई वन्यजन्तु संरक्षण क्षेत्र घोषणा गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषले गत आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरिसकेको छ । कोषले समेत अध्ययन गरेर प्रतिवेदन बुझाए पनि संरक्षण क्षेत्र घोषणा गर्न सरकारले बेवास्ता गरेको उनले गुनासो गरे ।

उनी स्वास्थ्य तहका पशु अधिकृत हुन् । स्थानीय तह सञ्चालनमा आएपछि विकट भएकै कारण गाउँपालिकामा खटाएका प्रमुख प्रशासकीय अधिकृत नबस्दा उनले लामो समयदेखि निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । प्रशासन सेवाका अधिकृतस्तरका कर्मचारी नहुँदा उनैले ३ वर्षदेखि निमित्तको रूपमा कामकाज गरिरहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

‘बिदाको सदुपयोग गर्दै सामाजिक विकासमा समय बिताउने कर्मचारी विरलै भेटिन्छन्,’ उनले भने, ‘उहाँको यो कामले वन्यजन्तुको संरक्षणमा सबैलाई प्रेरणा दिएको छ ।’ वन्यजन्तु र पन्छी अनुसन्धानमा योगदान गरेबापत उनलाई नेपाल पंन्छी संरक्षण संघले राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेको छ । इमानदार र कर्तव्यनिष्ठ कर्मचारीको छवि समेत बनाएका सिंहले मंगलबार यो वर्षको उत्कृष्ट निजामती पुरस्कार समेत पाएका छन्  ।

यो समाचार कान्तिपुर दैनिकमा हरिहर सिंह राठौरले लेखेका छन् ।

तपाईको प्रतिक्रिया