खोप लगाएकी बालिकामा देखियो दादुरा, कन्ट्याक परिक्षणका लागि १८ जनाको स्वाव संकलन


खलंगा । जिल्लाको भेरी नगरपालिकामा संक्रामक रोग दादुरा फेला परेको छ । हप्ता दिनको समय भन्दा बढि रुघाखोकी र ज्वरोको लक्षण देखिएकी एक बालिकाको स्वाव परीक्षण गर्दा संक्रामक रोग दादुरा पुष्टी भएको हो ।

भेरी नगरपालिका–१ रावतगाउँकी ९ बर्षिय रन्जीता विकलाई दादुरा पुष्टी भएको सामुदायिक स्वास्थ्य केन्द्र पिपेका ईन्चार्ज दलराज विकले जानकारी दिए । रुघाखोकी र ज्वरोले धेरै दिनसम्म घरमै थला परेपछि छोरी रन्जीतालाई गत साउन महिनाको अन्तिम सातामा चेक गराउन सामुदायिक स्वास्थ्य केन्द्र पिपेमा लिएको रन्जीताकी आमा हसना विकले बताईन् । सामुदायिक स्वास्थ्य केन्द्र पिपेले रन्जीतालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको उपचार शाखामा रिफर गरेको थियो ।

स्वास्थ्य सेवा कार्यालयको उपचार शाखाले परीक्षणको लागि रन्जीताको स्वाब नेपालगञ्ज पठाएको थियो । नेपालगञ्जको प्रयोगशालाले पठाएको रिर्पोट अनुसार दादुरा पुष्टी भएपछि रन्जीतालाई एक हप्तासम्म अस्पतालमै राखेर उपचार गरिएको आमा हसना विकले जानकारी दिईन् । अस्पतालमै राखेर गरिएको उपचारबाट रन्जीतालाई अहिले सन्चो भई सकेको हसनाको भनाई रहेको छ ।

जन्मेको १५ महिना भित्रै दादुरा, रुवेला लगाएतका १० वटै खोप रन्जीतालाई लगाएको आमा हसना विकले दावी गरेकी छन् । जन्मेको ९ महिनामा रन्जीतालाई दादुराको खोप लगाईएको हसनाले बताएकी छन् । खोप लगाएकी बालिकालाई दादुरा पुष्टी भएपछि खोप सम्बन्धी विश्व स्वास्थ्य संगठनले नै अध्ययन तथा अनुसन्धानको बिषय बनाएको भेरीनगर स्वास्थ्य शाखाको सह–संयोजक निशा थापा केसीले बताईन् ।

रन्जीतालाई सङक्रमक रोग दादुरा पुष्टी भएपछि कन्ट्याक परीक्षणको लागि विश्व स्वास्थ्य संगठनमा कार्यरत डाक्टरहरुको एक टोलीले रावतगाउँका १८ जना भन्दा बढिको स्वाव संकलन गरेर लिएको सामुदायिक स्वास्थ्य केन्द्र पिपेका ईन्चार्ज विकले जानकारी दिए । ईन्चार्ज विकले दिएको जानकारी अनुसार परीक्षणको लागि लगिएको स्वाब परीक्षणको रिर्पोट प्रयोगशालाबाट आउन बाँकी रहेको छ ।

अति छिटो सर्ने संक्रामक रोग दादुरा मिजल्स भाईरसको कारणबाट हुने गर्दछ । दादुरा संक्रमण भएमा बालबालिकाहरुमा गम्भीर प्रकारका जटिलताहरु पैदा हुनुको साथै ज्यानै लिन सक्ने खतरा हुन्छ । सन् २०२३ मा नेपाललाई दादुरा मुक्त देश घोषणा गर्ने नेपाल सरकारले लक्ष्य लिएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीको भनाई छ ।

तपाईको प्रतिक्रिया