कविता – कुहिरोमा हराउँदा


हराउनु त हाम्रो भाग्य बिधाता रहेछ,
कान्छा बाका हजारौ बाख्राहरु,
श्रावणे भेलमा उर्लदै उर्लदै हराए ।
त्यही बर्ष कान्छी आमाकि कान्छी छोरी,
भैसीलाई घाँस काट्दै गर्दा,
डाँडे भिरबाट खसेर हराइन् ।

अघिल्लो बर्ष ठूलाबाको घर र वारी,
पहिरोमा लरबराउदै लरबराउदै हरायो ।
पल्ला घरकी कान्छी बहिनी,
आफ्नो सन्तान उत्पादन गर्न खोज्दा,
उपचारको अत्तो पत्तो नपाई,
छट्पटाई छट्पटाई आफै हराइन् ।

मुटु रोगले ग्रष्त ठूला बाजे,
औषधी किन्ने मेसो नपाएर हराए ।
एस.इ.मा जम्मै अंक ल्याएकी राधिका बहिनी,
इच्छाएको बिषय पढ्न नपाएर,
सिमलको हाँगामा टुङ्गिएर हराइन् ।
पारी घरको माहिलो भाइ,
पैसाको खेलमा काला पहाडामा हरायो ।

नहराउनु पर्ने गाउँका धेरै मान्छे हराए,
कोही आफ्नै जन्मभुमिको माटोमा त,
कोही तराईका विभिन्न कुनाकुन्धरामा ।
हराएनत केवल त्यो मात्र हराएन,
गाउँबाट देखिने सेतो हिमाल,
बिहानीको मिरमिरे उज्यालो,
त्यहि मिरमिरेमा संगित भर्ने,

कोइली र न्याउली चरीको आवाज ।
पिपलको बोटमुनि चलेको शिशिर हावा,
कोमल स्वरमा गुञ्जिएका,
छहराको कलकल आवाज ।
प्रकृतिले सजिएका गुराँसका थुङ्गाहरु,
बसन्तमा हल्लिएका पालुवाहरु ।

मर्दा र पर्दा सहयोगि गाउले हातहरु,
सान्त्वना दिने काले दाईको मीठो बोली ।
निस्वार्थ गाउँले दाजुका तस्बिरहरु,
सानो झुपडीका निन्याउरा हनुहारहरु ।
हृर्दयको आवाज बोल्ने बोलीहरु,

र आफू रित्तिएर देश बचाउने मान्छेहरु ।
तर पनि हराउने क्रम जारीनै रह्यो,
त्यही हराउने भाग्य आएर मेरो,
मन मुटु र दिमागमा अड्कियो ।

र त्यही बर्ष म पनि हजारौ सपना बोकेर,
एउटा शहरको कुहिरोमा हराए ।
शहर पस्दा बसको क्याविनमा बसेपछि,
लाग्थ्यो संसारमा म भन्दा ठूलो को होला र ।
महलको एउटा होटेलमा पसेपछि,

लाग्थ्यो संसारमा म भन्दा भाग्यमानि को होला र ।
तर कानै फुट्ने आवाजको कोलाहल सहनु,
डुङ्डुङ्ति गनहाउने नालिको दुर्गन्ध सहनु ।
केवल एकचिम्टी खाना नछोड्नेको लात सहनु,
मर्दा र पर्दा असहयोगि साथ सहनु ।

आफ्नै रगत नसहने मान्छेको गालि सहनु,
उडुसभन्दा खत्रनाक लामखुट्टेको टोकाई सहनु ।
त्यो भन्दा खत्रनाक र दर्दनाक,
गाउले भनी अपमान गरेको बोली सहनु ।

त्यो भन्दा झनै खत्रनाक,
गाउले जिवनको याद सहनु ।
र शहरलाई कालो कुहिरोले घेरेर,
गिज्याईरहेको त्यो दृश्य सहनु ।
अनि सधै सधै त्यहि शहरको कुहिरोभित्र,
आफै कता हराउनु,
वा मेरो जिन्दगी……….

डिल्ली थापा ‘चिन्तन’

बारेकाेट गाउँपालिका २ जाजरकाेट हाल दांग

तपाईको प्रतिक्रिया