२३ भाद्र २०७८, बुधबार

अफगानिस्तानमा तालिवानको नयाँ सरकार : बने मुल्लाह मोहम्मद हसन प्रधानमन्त्री


एजेण्सी । अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ । मुल्लाह मोहम्मद हसन अखुन्दलाई तालिबानले प्रधानमन्त्री बनाएको छ ।

सन् १९९०को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए । उनी तालिबानका सह–संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन् । ओमरलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको छ ।

अखुन्दको उमेर ६० आसपास रहेको बताइएको छ । अखुन्द तालिबान समूहभित्र सबैले मान्ने नेतामा रुपमा चिनिने रोयटर्सले जनाएको छ । उनी यसअघि त्यहाँको उपविदेशमन्त्री समेत रहिसकेका छन् ।

तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदले मंगलबार पत्रकार सम्मेलन मार्फत अन्तरिम सरकारको घोषणा गरेका हुन् ।

तालिबानको राजनीतिक कार्यालय प्रमुख मुल्लाह अब्दुल घानी बरादार उप–नेता (उपप्रधानमन्त्री)को रुपमा रहनेछन् भने सिरजुद्दिन हक्कानीलाई अन्तरिम मामिलामन्त्री बनाइएको छ । उनी हक्कानी नेटवर्कका संस्थापकका छोरा हुन् ।

तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । यस्तै, हेदुतल्लाह बाद्री अर्थमन्त्री भएका छन् । तालिबान समूहका वार्ता दलका सदस्य अमिर खान मुताक्कीलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

३३ सदस्यीय हुने मन्त्रिपरिषद्का अन्य सदस्यहरुको नाम विस्तारै घोषणा गरिने प्रवक्ता मुजाहिदले जानकारी दिए ।