‘आहा ! कति सुन्दर झरना’


जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ८ लैखम पुग्ने जतिले अहिले भन्ने एउटै वाक्य हो । ‘आहा, कति सुन्दर झरना’ । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् ।

बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्बद्धन गर्न सके जिल्ला कै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । लैखम गाउँबाट करिब ७ सय मिटर दक्षिण पुर्वमा रहेका झरनाको बनावट अनौठो खालको रहेको छ । आवश्यक प्रचारप्रसारको नहँुदा यो क्षेत्र ओझेलमा परेको स्थानीय विशाल खत्रीले बताए ।

‘सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुन सके पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने खत्रीले भने ।’

माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आकर्षण बढाएको छ । झरनाको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको छ । यहाँ दुई वटा झरना रहेका छन् जसम तल्लो रापानी झरना र माथिल्लो रापानी झरना रहेका स्थानीय जानकारहरु बताउँछन् ।

छेउमै कलकल वग्ने नलसिंहगाड खोलाको सुन्दरता संगै खुल्ला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको झरना क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवम आकर्षक पर्यटकीय स्थल वनाउनुपर्ने स्थानीय कृष्णराज सिंहले बताए । उनले भने, ‘शनिबार तथा विदाको समय झरनामा पुगेर फोटा खिच्ने तथा समाउने युवायुवतीहरुको संख्या पनि ठुलै हुन्छ ।’

झरना सम्म पुग्नका लागि पक्की घोरेटो बाटो र मान्छेहरु हिड्ने सहज पैदल मार्ग निर्माण गर्नुपर्ने स्थानीय बताउँछन् । झरनासम्म पुग्नलाई गतिलो बाटो समेत छैन ।
झरनाको उचित प्रचारप्रसार गर्न सके लैखम गाउँकै नाउ उच्च हुने छ । ७ सय बर्ष पहिले खगेनकोटी राजा सिकार खेल्न गएको बेला उक्त झरनाको पानी पिएको किंबदन्ती छ । राजाले पिएको पानी भएको हुदाँ यस झरनाको नाम रापानी झरना रहन गएको स्थानीय वुद्धिजिवीहरुको भनाई छ ।

समुद्री सतहदेखि करिब १ हजार मिटरको उचाइमा रहेका तल्लो झरनाको लम्बाई झण्डै ८० मिटर छ भने माथिल्लो झरनाको २ सय मिटर छ । झरना नजिकैबाट छर्लङ देखिने बारेकोट प्रवेश गर्दाको खाँरागल्छी, झरनाको तलबाट सुसाउदै बग्ने नलसिंहगाड खोला, वरिपरी रहेको हरियो वन जंगलले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ । हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा कस्तुरी मृग, घोरल, बँदेल, झारल, चिरकालिज, कालिज, डाँफे जस्ता विभिन्न जंगली जनावरहरु तथा पंक्षीहरु देख्न सकिन्छ ।

यहाँ सामान्य पूर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आकर्षण बढ्ने स्थानियको विश्वास छ । झरनाको प्रचार र प्रर्वधन गर्नका लागि गाउँपालिकाले खासै पहल गर्न नसेको स्थानीय बताउँछन् ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले निती तथा कार्यक्रम सार्वजनिक गर्दा पर्यटन प्रवद्र्धन गरिने छ भनी प्रस्तुत गरेपनि आर्थिक वर्ष सकिन्छ तर कुनै पहल हुदैन् । पर्यटनमा छुट्याइएको बजेट कुनै अर्काे ठाउँमा प्रयोग गर्दा बारेकोट क्षेत्रमा भएका पर्यटन क्षेत्रको प्रचारप्रसार हुन सकेको छैन् । यहाँका ताल, तलैया, हरियालीले बर्खाको समयमा हजारौ पर्यटकको मन लोभ्याउने गर्छ । स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखी काम गर्ने हो भने बारेकोटमा पर्यटनमा निकै ठुलो प्राप्ती हुने स्थानीय सरोकारवालाहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया