सल्यानका १० स्थानीय तहमा हेलिप्याड निर्माण

तुलसीपुरमा हेलिप्याड निर्माण

                                                     फाईल तस्विर
सल्यान । ग्रामीण क्षेत्रका गम्भीर बिरामी, घाइते र गर्भवतीको आकस्मिक उद्धारका लागि जिल्लाका १० वटै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न सुरु गरिएको छ । स्थानीय तहको सहकार्यमा सेनाको सबुज गणले हेलिप्याड निर्माण गर्न थालेको हो ।

जिल्लाको तीन नगरपालिकामा दुई÷दुई र सात गाउँपालिकामा एक÷एक गरी १३ हेलिप्याड निर्माण गर्न थालिएको गणले जनाएको छ ।अहिलेसम्म सातवटा हेलिप्याड निर्माण गरिसकेको सबुज गणका गणपति कञ्चनकृष्ण बस्नेतले बताए । उनका अनुसार चारवटा हेलिप्याड निर्माण भइरहेको छ । हेलिप्याड निर्माणका लागि स्थानीय तहले सामग्री उपलब्ध गराएको उनले जानकारी दिए । ‘सबै स्थानीय तहमा नाइटभिजन हेलिप्याडको काम भइरहेको छ,’ उनले भने, ‘प्राविधिकसहितको टोलीले अनुगमन गरी हेलिकप्टर ल्यान्ड गरेपछि यसले पूर्णता पाउनेछ ।’

नाइटभिजन हेलिप्याड निर्माण भएपछि रातिको समयमा भएका घटनाका गम्भीर घाइतेलाई उद्धारमा सहज हुनेछ । शारदामा दुई तथा बन्गाडकुपिण्डे, बाग्चौर, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा एक÷एक हेलिप्याड निर्माण भएको सेनाले जनाएको छ । गणका अनुसार दार्मा, कालीमाटी र कुमाखमा हेलिप्याड निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विपद् व्यवस्थापनलाई सहज बनाउन पूर्वतयारीका लागि हेलिप्याड निर्माणको अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले बताइन् । ‘सरकारले एयर एम्बुलेन्स सेवा सुरु गरेपछि गम्भीर बिरामीलाई तत्काल उद्धार गरिएको छ,’ उनले भने, ‘अब गम्भीर अवस्थाका बिरामी र दुर्घटनाका घाइतेको सहज उपचार हुनेछ ।’

तपाईको प्रतिक्रिया