कांग्रेसकी कान्छी वडा सभापतिको अनुभव :’१४ जना आकांक्षीलाई सहमतिमा ल्याएँ’

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको संग्राममा छ । देशभरका वडाबाट नेतृत्वहरु चयन भइरहेका छन् । अधिकांश वडाहरुले सर्वसम्मत रुपमा नेतृत्व र क्षेत्रीय प्रतिनिधिहरु चयन गरेका छन् । देशभर सयौं वडा सभापतिहरु चयन भइरहँदा दैलेख दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित स्वस्तिका महत एकाएक चर्चामा आइन् ।

१९ बर्षको कलिलो उमेरमै सर्वसम्मत रुपले वडा सभापतिमा चयन भएपछि स्वस्तिकालाई बधाईको ओइरो लागेको छ । ‘बहिनी, जय नेपाल । बधाई है !’ भन्दै सयौं शुभेच्छुकहरुले फोन गरिरहेका छन् । सामाजिक संजालमा स्वस्तिका ‘हट केट’ नै बनेकी छन् । मिडियाहरुमा अन्तरवार्ता दिन भ्याइनभ्याइ छ । गाउँदेखि केन्द्रसम्म बुढा पुस्ताको हाबी भइरहेका बेला उनी युवाहरुको एक प्रतिनिधि प्राप्त बनेर उदाएकी छिन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्वस्तिकाको विजयीलाई ‘नयाँ पालुवा’को उपमा दिंदै परिवर्तनको प्रतिनिधि आवाज भनेका छन् ।

उनले लेखेका छन्,‘नयाँ पालुवा पलाउँदैछ कांग्रेसमा । बधाई स्वस्तिका महतलाई !’ देशको मुहार बदल्नु छ त राजनीतिको मुहार बदलिनु पर्छ । राजनीतिको मुहार बदल्ने अभियानले तागत प्राप्त गर्छ भविश्य बोकेको जाँगरिलो युवाहरुको सार्थक हस्तक्षेपले ।’

कांग्रेस नेतृ डा आरजु राणा देउवाले पनि स्वस्तिकालाई बधाई दिंदै लेखेकी छिन्, ‘कांग्रेस नै हो जसले युवाको नेतृत्व, विचार र जागरलाई कदर गर्छ ।’ वास्तवमा दुल्लुको वडा नम्बर ३ ले युवाको कदर गरेको छ । स्वस्तिकाले भनिन्,‘म मेरो वडाबाट सजिलै आएकी होइन । १४ जना सभापतिका आकांक्षीहरुलाई सहमत गराएरै आएकी हुँ । उहाँहरुको आत्मविश्वास बढाएरै आएकी हुँ । मैंले काम गर्न सक्छु भन्नेमा सबैलाई विश्वस्त दिलाएकी हुँ । शुरुमा वडा सभापतिका लागि १४ जना आकांक्षी हुनुहुन्थ्यो । जसमध्ये शुरुमा ६ जनाले मेरो पक्षमा समर्थन जनाउनु भयो । पछि सबैको जोडबल र मायाले म सर्वसम्मत भएँ ।’

राजनीतिक वातावरणमै हुर्किएकी स्वस्तिका आफ्ना बुबाकै कारण राजनीतिप्रति आकर्षित भएको र राजनीति बुझ्ने अवसर मिलेको बताउँछिन् । उनका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति थिए। दुई बर्ष अघि दिल्लीबाट फर्किदै गर्दा एक्कासी बेहोस भएर एपोलो अस्पतालमा भर्ना भएपछि मृत्यु भएको थियो । उनलाई चिकित्सकहरुले डेंगु भएको रिर्पोट दिएका थिए ।

‘बुबाको एउटा सपना थियो । राजनीतिमार्फत जिल्लामा धेरै काम गर्ने इच्छा गर्नुहुन्थ्यो । तर पूरा गर्न पाउनु भएन्’ उनले भनिन्,‘सबैको साथ र सहयोगले बुबाले समाज परिवर्तनका लागि देख्नुभएको सपना पूरा गर्ने इच्छा छ ।’ उनकी आमा अरुण विसी महतले पनि छोरीको इच्छा र उद्देश्यलाई साथ दिएकी छन् । ‘हुनत छोरीको यो उमेर भनेको पढ्ने उमेर हो । तर उनको इच्छालाई रोक्न सकिदैन् । मेरो श्रीमानले पनि राजनीतिमा लागेर समाजका लागि धेरै गर्ने मौका नै पाउनु भएन । अल्पायूमै निधन भइहाल्यो । उहाँको सपना अधुरै थियो । अब ती सपनाहरु छोरीले पूरा गर्छिन भन्नेमा विश्वस्त छु’ उनले भनिन् ।

हुनत धेरै नेपाली युवाहरुलाई राजनीतिप्रति वितृष्णा छ । राजनीति फोहोरी खेल भनेर ब्याख्या गरिरहेका छन् । दशकौं राजनीतिमा समय खर्चिएका युवाहरुले अवसर नपाउँदै कपाल फुलाउनु परेको छ । युवाहरुले राजनीतिलाई फोहोरी खेल भन्ने गरेको भए पनि स्वस्तिकाले राजनीति समाजसेवाको एउटा अंगको रुपमा बुझेकी छिन् । उनी भन्छिन्,‘सबैले भन्छन् राजनीति भनेको फोहोरी खेल हो । तर म यसमा सहमत छैन् । राजनीतिमा लागेका व्यक्ति फोहोरी हुनुहुँदैन । भ्रष्ट हुनुहुँदैन् । वास्तवमा राजनीति आफैं फोहोरी खेल हुँदै होइन । त्यसलाई सुधार गर्न हामीले सक्नुपर्छ ।’

नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेकी स्वस्तिकाले कांग्रेसको महत्वपूर्ण जिम्मेवारी पाएकोमा उनकी आमा, भाइ, आफन्त तथा शुभेच्छुकहरु खुशी छन् । ‘म सभापति भएकोमा सबै खुशी हुनुहुन्छ । तर म अब जिम्मेवारीले थिचिएकी छु । वडामा रहेका १ सय २३ क्रियाशील सदस्यलगायत सबै वडाबासीको इच्छा पूरा गर्न कोशिस गर्नेछु । दृढ आत्मविश्वासका साथ सबै वडाबासीलाई एकजुट बनाएर काम गर्नेछु’,उनने आफ्नो योजना सुनाइन ।

राजनीतिसँगै पढाइलाई पनि साथसाथै अघि बढाउने उनको इच्छा छ । पढाइ र राजनीति फरक पाटो भएकाले समय व्यवस्थापन गरेर काम गर्ने योजना रहेको उनले बताइन । दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीति अनुसार नै स्वस्तिकालाई वडा सभापतिमा प्रस्ताव गरिएको प्रतिक्रिया दिए ।

‘देशभर अधिवेशन चलिरहँदा हामीले नमूना प्रश्तुत गरेका हौं । यो नमूनाले वडादेखि केन्द्रसम्मका नेताहरुलाई सकरात्मक पाठ सिकाओस भन्ने चाहना छ । कांग्रेसमा युवाहरुको आकर्षण बढोस र पार्टी सुदृढ बनोस भन्ने हाम्रो लक्ष्य हो’ उनले भने । #हाम्राकुरा डटकम बाट साभार गरिएको हो ।#

तपाईको प्रतिक्रिया