१९ भाद्र २०७८, शनिबार

माओवादी मनोदशाको विद्रुप छायामा वाइसीएलको राष्ट्रिय भेला – एक समीक्षात्मक टिप्पणी


१ – दृश्य ः–
नेकपा माओवादी केन्द्रको मेरूदण्डको रूपमा चिनिने युवा संगठन वाइसीएलको काठमाडौंमा तीन दिनदेखि जारी राष्ट्रिय सम्मेलनले विडम्बना अध्यक्ष लगायत मुख्य पदाधिकारीको टिम चयन गर्न सकेन । सम्मेलनले संगठनको अध्यक्ष लगायत पदाधिकारी टिम चयन गर्न नसकेपछि अस्ति सोमबार पार्टीको स्थायी कमिटी बैठक बसेर वाइसीएलको अध्यक्ष चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

इतिहासको खास मोड मुख्यतः ०४६ यतापट्टि र परिवर्तनका पछिल्ला कडिहरूमामा आन्दोलनको वेला , प्रतिगमनले अग्रगमनमाथि धावा बोलेका वेला , विस्तारवादी भारतले नेपालका सिमासाँधिहरू मिचेको वेला , भ्रष्टाचार , महंगी , कमिसनको बोलवाला बढेको वेला ती सबै हर्कतहरूको विरूद्धमा गाउँ , पाखापखेरी , शहर चोक गल्लीमा खवरदारीको हुँकार छेड्ने लगायत अन्य जनसरोकारका बिषयमा छाती थापेर ठुला ठुला जोखिम उठाएको , जुलुस र आन्दोलनमा छाती थापेर इन्क्लाबको नारा लगाएको एवं जनयुद्ध र जनआन्दोलनको वेला अग्रमोर्चामा रहेर युगीन कार्यभार सम्पादन गरि नेपाली जनताको माझ मित्रलाई बिश्वास र बिरोधिहरूलाई त्राहिमान बनाएको एवं फरक परिचय र पहिचान बनाउन सफल भएको वाइसीएलको गरिमामय राष्ट्रिय सम्मेलनले अध्यक्ष लगायत मुख्य पदाधिकारी टिम बनाउन नसक्नुमा दशक अघिदेखि बैचारिक , राजनीतिक र सांगठनिक रूपले निम्छरो र रूग्न बन्दै गएको उसको माउ पार्टी माओवादीमा देखापरेका बिचलन र गुटगत अभ्यासको उल्झनबाट पैदाभएको विद्रुप मनोदशाको छाया (बिम्ब) ले काम गरेको कुरामा कुनै शंका छैन ।
यस सम्बन्धमा अरू सवालहरू पनि दृश्यमा , अदृश्यमा , सादृश्यमा र अस्पृश्यमा जिम्मेवार भएर जोडिएका छन् । ती सवालहररू भोलिका दिनमा कसरी थितो थान्को लाग्छन् भन्ने कुरा वाइसीएलको मात्रै नभई उसको माउ पार्टीको सिंगो राजनीतिक जीवन भविष्यसंग जोडिएको छ । यो लेख त्यसै वरिपरि केन्द्रित बनेको छ ।
२ – अदृश्य ः–

सत्य तीतो तर यथार्थ हुन्छ । अतः जतिबेला माओवादी भित्र द्दन्दात्मक भौतिकवादी दृष्टिकोण , केन्द्रीकृत कमान्ड , लेनिनवादी संगठनात्मक पद्धति , जनवादी केन्द्रितता लगायतका आवश्यक बिधि सिद्धान्तहरू थिए । सापेक्षित रूपले सही भएका कारण प्रायः सबै संगठनहरू चुस्त र गतिशील थिए । जब माथि उल्लेखित पद्धतिहरू सबै मरेतुल्य भए तब सबचिज हराए । द्दन्दात्मक भौतिकवादी चेत चेतनाबाट अधिभूतवादी , संकृणतावादी , मनोगतवादी , अराजकतावादी , गुटवादी , निम्न पुँजीवादी अधैर्यतावादी , क्षेत्रीयतावादी , चरम नश्लवादी , जाती ( उच्च जातीय अहंकार ) वादीमा रूपान्तरण भएपछि हिजोका सबैचिज हराए ÷ भत्किए ।

यी कुराहरू बैचारिक , राजनीतिक र दार्शनिक रूपले बिग्रियो भनेर उठाउनेहरू नै माओवादी भित्र बेकुफ हुने , त्यो संधासर्वदा निशेध बनाइने , नक्कली र बनावटी कुरा गर्नेहरू सदर हुने परिपाटी बिकास भयो । अनि नक्कली र बनावटी कुराले पार्टी संगठन कसरी जीवित रहन्छ ? आज माओवादी यिनै शनि संकट र समस्याहरूबाट थिचिएको छ । गुज्रिएको छ । सही र यथार्थ कुरा यही हो । यो माक्र्सवादी द्दन्दात्मक भौतिकवादी कुरा हो । तर यतिखेर माओवादी पार्टीभित्र द्दन्दात्मक चेत र चेतना मरेतुल्यछ ।

रचनात्मक आलोचना र टिप्पणीहरूलाई कुण्ठाको अलाप ठान्छ । अर्थात आलोचना गर्नु उसको लागि सह्यको बिषय हुँदैन । रचनात्मक आलोचना मित्र भन्दा पनि किनाराको शत्रु हुन्छ । सत्य यही हो कि दशक अघिदेखि र झन यतिखेर माओवादी पार्टी र उसका सबै जनसंगठहरू भद्रगोल छन् । कार्यकर्ता छरपस्ट छन् ।

यो सजीव तथ्य भन्दा माओवादीलाई पटक्कै मन पर्दैन । धेरैले आशा गरेका थिए कि संगठन र शक्तिमा भएको निरन्तरको क्षयीकरणले थला परेको माओवादी पार्टीलाई यसपटकको वाईसीएलको राष्ट्रिय सम्मेलनले केही भरथेग , राहत र गतिशीलताको सञ्जीवनी प्रदान गर्छ । थप नयाँ उर्जा र बिश्वास पैदा गर्छ । बर्सौंदेखि खिया लागेर जाम भएको संगठन पुनः गतिशील हुन्छ ।भद्रगोलको अन्त्य र संगठन चलायमान हुन्छ । सम्मेलनको रापतापबाट निर्वाचित टिमले स्वयं र माओवादीलाई साँच्चै गतिशील बनाउँछ ।

तर हात्ती आयो फुस्सा भने झैं पार्टी भित्रको गुटबन्दीले वाइसीएल जस्तो जीउँदो र सग्लो संगठनलाई बिभाजन गर्ने कार्य पार्टीका उपल्लो तहका नेताहरूबाट भयो । जसका कारण सम्मेलनमा सहभागी वाइसीएलका सयौं ( प्रतिनिधि ) नेता कार्यकर्ताहरू निराश बनाएर फर्काउने काम भयो । वाइसीएलको सांगठनिक जीवनको आँखाबाट हेर्दा निश्चयन नै यो पहिलो घटना होला । यसको समीक्षा होला नहोला तर काठमाडौमा केन्द्रित वाइसीएलका सयौं नेता कार्यकर्तालाई निराशा बनाउने काम गुटगत राजनीतिले गर्यो ।

यो चर्को गुटबन्दीको दुर्गन्ध र गलत अभ्यासलाई कुन विधि र पद्धतिमा लिएर हल गर्ने ? यो चुनौती माओवादीको लागि नयाँ नभएपनि तर घाँटीमा अल्झिएको हड्डी पक्कै हो । कोरोनाको कहरले अस्तव्यस्त बनेको बिश्व तथा नेपाली जनजीवन जस्तै माओवादी पार्टी र पार्टीभित्रको आन्तरिक गुटगत शक्ति संघर्ष वाइसीएलको राष्ट्रिय सम्मेलनमा आएर झन् छताछुल्ल बन्यो । आन्तरिक शक्ति सो र गुटगत अभ्यास गर्ने एउटा फरक रणमैदान बन्यो वाइसीएलको राष्ट्रिय सम्मेलन । माओवादी पार्टी भित्रको आन्तरिक शक्ति संघर्षको विद्रुप मनोदशाको छाया (बिम्ब) देखियो वाइसीएलको राष्ट्रिय सम्मेलनमा ।

यो बिम्बको अन्तरवस्तुको कथा , कथ्य र तथ्य अध्ययन गर्दा प्रष्ट भेटिन्छ । तर प्रयोगको मोडालिटि निकै अदृश्य छ । जसलाई सजिलोसँग चिन्न र पत्याउन मुश्किल पर्छ । आन्तरिक तथ्यमा हेर्दा सनातनी मनुवादी चेतना र दस बर्षे जनयुद्धले निर्माण गरेको ठिमाहा चेतनाको फ्युजनले वाइसीएलको राष्ट्रिय सम्मेलनबाट अध्यक्ष लगायतको पदाधिकारी टिम प्राप्त गर्न सकेन । यही मिश्रित ठिमाहा चेतनाको परिणाम हो राष्ट्रिय सम्मेलन ।

अर्को भाषामा भन्दा क्रान्तिकारी राजनीतिक बिचारको आवरणमा लुकेर आधारभूत बर्गबाट ठुलो संघर्षगरेर नेता र नेतृत्व गर्ने तहसम्म पुगेका उत्पीडित बर्ग समुदायका मान्छेहरूलाई डस्ने बिषालु गोमनरूपी उच्च जातिवादको पराकाष्ठामा अभिव्यक्त भयो वाइसीएलको राष्ट्रिय सम्मेलन । यो भन्दा अर्को कुरा हुँदै होइन ।

किञ्चित व्यक्तिको स्वभाव , स्वत्व , शैली र भावभंगी कुनै अमुक नेताहरूले मन नपराउने फरक कुरा हो । तर समग्रतामा त्यसैलाई आधार मानेर मुल्यांकन र निशेध गर्नु सर्वदा गलत हो । आन्दोलन , योगदान र इतिहासको मानमर्दन हो । वाइसीएलको राष्ट्रिय सम्मेलनमा अदृश्य र नेपथ्यबाट प्रयोग भएको सनातनी मनुवादी दर्शनको सारभूत कुरा यही हो ।
३ – सादृश्य ः–

सनातनी हिन्दु बर्णाश्रम व्यवस्थाका दार्शनिक प्रणेता मनु र उनले जन्माएको मनुवाद सनातनी समाजको चेतना कालमा जन्मिएको भएपनि यो आधुनिक समाजको पनि महत्त्वपूर्ण जीवन दर्शन बनेको छ । मनुवादको दर्शन र दार्शनिक परिधि र प्रयोग नेपाली समाज र मुख्यतः नेपाली राजनीतिमा झन झन बिकास र विस्तार हुँदै गएको छ ।

हरेक राजनीति दलभित्र यसको मिहिन प्रयोग भैरहेको छ । यसको पछिल्लो कडि २०७८ भदौ १६ गते हिजो मात्रै नेपाली काँग्रेसका बौद्धिक र प्रभावशाली नेता मीन बिश्वकर्माले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधि छनौटको नीति र मापदण्ड दलित तथा उत्पीडित समुदायको भावना विपरीत र निशेध गर्नेगरि आएकोले उक्त नीतिप्रति गंभीर असहमति राख्दै पार्टीको सबै जिम्मेवारीबाट राजिनामा दिएका छन । मीन बिश्कर्माको यो राजिनामाले नेपाली राजनीतिमा उच्च जातिवाद अझै कति जब्बर छ भन्ने कुरा छर्लङ्ग छ ।

यसर्थ वाइसीएलको नेतृत्व छनौटको बिषय पनि जातीवादको रोगबाट मुक्त सकेन । यतिबेला सामाजिक सञ्जालहरूमा यो विषयले ठुलो स्थान पाएको छ । सहानुभूतिको जग कमजोर हुन्छ । मुख्य कुरा बिचार हो। सहानुभूतिको जगमा उभ्याएर सुवोधराज सेर्पाली र सुमन देवकोटा दुवैजनाको गौरवमय इतिहास , योगदान , योग्यता र क्षमतालाई कमजोर बनाउनेगरि जसरी बिषयान्तर गरियो । त्यो सही होइन । युवाको पनि सक्षम युवालाई नेतृत्व बनाउन नचाहनु समस्या त्यो हो । त्यसभित्र जातिगत मनोविज्ञानले नै प्रभावकारी भूमिका खेलेको कुरामा कुनै शंका छैन । समस्याको अन्तरनिहित चुरो यही हो ।

४ – अस्पृश्यमा ः–

राजनीतिमा शुद्धताको खोजी मुर्खता हो । नेपाली राजनीतिका कयन तथ्यहरूले यही बताउँछन् । गुटगत अभ्यासमा राजनीतिक भविष्य देख्नेहरू नै राजनीतिको केन्द्रमा छन् । अवसर र लाभको केन्द्रमा छन् । माओवादी पार्टीको गत साउनमा सम्पन्न पछिल्लो बैठकको निर्णय माओवादी पार्टीको रूपान्तरणको लागि केन्द्रित थियो ।

सो सम्बन्धि निर्णयको सर्कुलर र त्यसको भावस्प्रिट संगठनको तल्लो तहसम्म सम्प्रेषण नहुँदै ÷ नआइपुग्दै रूपान्तरणको स्प्रिटलाई मार्नेगरि वाइसीएलको राष्ट्रिय सम्मेलनमा जुन गुटबन्दी र उच्च जातीय अहंकारवादी संकृणताहरू देखिए त्यसले फेरि कयन आशंकाहरू जन्माउने काम गरेको छ ।

के माओवादी कम्युनिस्ट जीवन दर्शन त्यो हो ? यदि माओवादी कम्युनिस्ट जीवन दर्शन त्यो होइन भने होइन भन्ने बिश्वासका आधार के हुन् ? माओवादी पार्टी र उसका सबै जनसंगठनहरू सकारात्मक रूपान्तरणको दिशामा भन्दापनि गुटका अखडा बन्ने खतरा झन बढेर गयो ।

निष्कर्ष ः–
गुटवाद दार्शनिक रूपले दक्षिणपन्थी अवसरवाद हो । गुटबन्दी दार्शनिक रूपले संसोधनवाद हो । यसका विरूद्धमा बैचारिक , राजनीतिक र सांगठनिक रूपमा प्रतिवाद गर्न सकेमात्र गुटबन्दी , दक्षिणपन्थी अवसरवाद , दक्षिणपन्थी संसोधनवाद र उच्च जातीय संकृणतावादी सोच चिन्तनलाई कमजोर मात्रै नभई परास्त गरेर बलियो , सौम्य , शालिन र सु संस्कारयुक्त पार्टी संगठन बनाउन सकिन्छ ।

(लेखक गणेश चिन्तन नेपाल पत्रकार महासंघ रुकुम शाखाको पुर्व अध्यक्ष तथा साहित्यकार हुनुहुन्छ)