जाजरकोट । राणा प्रधानमन्त्रीहरुमा चन्द्र शम्शेरले भने धेरै बिबाह गरेनन् । केवल १५ वर्षको उमेरमा चन्द्र लोकभक्त लक्ष्मी देवीसंग बिबाह गरेका थिए । बि.सं. १९६१ माघ ३० गते चन्द्र लोकभक्त लक्ष्मी देवीको देहान्त भए पछि बि.सं. १९६२ मा बालकुमारीसंग बिबाह गरेका थिए । बालकुमारीसंग बिबाह गर्दा उनि बनारसमा बस्दथे ।
तर उनको माइती गाउँ जाजरकोट थियो । उनी जाजरकोटी राजा जंगबहादुर शाहकी नातिनी थिइन् । जाजरकोट दरवार पुग्न भेरी नदी तर्नुपर्ने बाध्यता थियो । वर्षातमा भेरीलाई डुंगा बाट पनि तर्न समस्या हुन्थ्यो । अझ गाउँलेको लागि त अझ कठिन थियो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले देशैभर अति आबश्यक ठाउँमा पक्की आधुनिक झोलुगें पुलहरु निर्माण गर्न थालेका थिए । राणाकालमा आफ्नो क्षेत्रमा आधुनिक पक्की झोलुगें पुल निर्माणको लागि पनि अहिलेको झै माथिल्लो निकाय सम्म पहुँच हुनुपर्थ्यो । अन्यथा दुर्गम स्थानहरुमा पुलको आबश्यकता रहेको थाहा नै हुदैनथ्यो ।
जाजरकोटको भेरी नदीमा पुल राख्नको लागि चन्द्रशम्शेरकी रानी बालकुमारीले चन्द्रशम्शेरलाई आग्रह गरिन् । जसले गर्दा चन्द्रशम्शेरले तत्कालिन इञ्जिनियर कुमार नरसिंह राणालाई पुलको डिजाइन गर्न लगाए । पुलका सामग्रीहरुको लागि सम्पूर्ण जिम्मा बेलायतको स्कटल्याण्डमा रहेको जोन एम हेन्डरसन कम्पनीलाई नै दिइएको थियो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बि.सं. १९५४ देखि नेपालमा झोलुगें पुल राख्ने अभियान नै चलाएका थिए । यि झोलुगें पुलहरु केवल काठमाडौको लागि बनाइएका थिएनन् । दुर्गम गाउँहरुमा पनि राखिएका थिए । ४० वर्ष अगाडिसम्म पनि गुलजार नभएका गाउँहरु नजिकैका खोलाहरुमा पनि झोलुगें पुलहरु बनाइएका थिए । झोलुगें पुलको लागि आबश्यक फलामे सामानहरुको लागि नजिकैको भारत होइन ।
यूरोपको एक छेउमा रहेको स्कटल्याण्डको उत्तरी शहर एबरडीनसंग नाता गाँसिएको थियो । भौगोलिक रुपले भनौ भने ७ हजार कि.मि. भन्दा टाढा थियो । तर त्यहाँ देखि आजभन्दा १ सय १९ वर्ष अगाडि फलामे सामग्रीहरु ल्याएर नेपालमा झोलुगें पुलहरु बनाइएका थिए । अहिलेका दलिय नेताहरुमा त्यतिको सोच भेटिदैन ।
चन्द्रशम्शेरको समयमा नेपालमा पहिलो झोलुगे पुल बि.सं. १९५७ मा नुवाकोटको त्रिशुली नदीमा बनाएका थिए । त्यसबेला झोलुगें पुलका सम्पूर्ण निर्माण सामग्रीको जिम्मा भने स्कटल्याण्डको एबरडीनमा रहेको लुइस हार्पर एण्ड कम्पनीलाई दिइएको थियो । यस कम्पनीले बि.सं. १९६७ सम्म १० वर्षको अवधीमा नेपालमा जम्मा ७ वटा आधुनिक झोलुंगे पुलको निर्माण गरे । बिभिन्न कारणवश लुइस हार्पर एण्ड कम्पनीले बि.सं. १९६७ पछि झोलुंगे पुलको निर्माण सामग्री बनाउन बन्द गरे ।
तर नेपालले भने लुइस एण्ड हार्पर कम्पनी बन्द हुनु केही अगाडि नै स्कटल्याण्डको एबरडीनमा रहेको अर्को कम्पनी जोन एम हेन्डरसनलाई आधुनिक झोलुगें पुल निर्माणको जिम्मा दिएको थियो । यस कम्पनीले भने नेपालमा सय भन्दा बढी झोलुगें पुल बनाएका थिए । जोन एम हेन्डरसन कम्पनी, एबरडीन, स्कटल्याण्डमा रहेको पुल तथा अन्य कामको लागि आबश्यक फलामका लट्ठा तथा केबलहरु तैयार बनाउने कम्पनी थियो ।
यस कम्पनीका एक्ला मालिक जोन मैकडोनाल्ड हेन्डरसन एक प्रतिभाशाली इञ्जिनियर थिए । केही न केही नयाँ प्रयोग गरिरहने यि इञ्जिनियरले सन १८६६ मा आफ्नै कम्पनी खोलेर बिभिन्न निर्माण सामग्रीहरु तैयार गर्न थालेका थिए । १८८० सम्म आइपुग्दा फलामे पुलका सामग्रीहरु तैयार गर्न थालका थिए भने १९२७ मा आइपुग्दा पानीजहाज कारखाना पनि शुरु गरेका थिए ।
जोन एम हेन्डरसनले नेपालमा पहिलो झोलुगें पुल सिन्धुली र रामेछापको बिचमा सुनकोशी नदी माथि खुर्कोटमा वि.सं. १९६४ बनाएका थिए । यसरी झोलुंगे पुल बनाउने जिम्मा पाएको जोन एम हेन्डरसनले जाजरकोटको मटेलामा पनि भेरी नदी माथि झोलुगें पुल बनाउने जिम्मा पायो । डिजाइनका लागि इञ्जिनियर कुमार नरसिंह राणालाई जिम्मा दिइए पनि पुलको सर्भे गर्न भने बेलायती इञ्जिनियरहरु नै आएका थिए ।
झोलुंगे पुलका लागि आबश्यक सामग्रीहरु स्कटल्याण्ड देखि कलकत्ता सम्म पानी जहाजमा ल्याइएको थियो भने कलकत्ता देखि भारतीय शहर बहराइच सम्म रेलमा ल्याइएको थियो । बहराइचबाट भारतीय सिमा कोइलावास सम्म भारतीय मजदूरहरुले बोकेर ल्याइएको थियो । कोइलावासबाट मटेलासम्म भने हात्ती तथा जाजरकोटे जनताहरुले बोकेर ल्याएका थिए । सम्पूर्ण सामग्री ढुवानी गर्न स्थानिय जनता र २० वटा हात्तीलाई झण्डै दुइ महिना लागेको थियो । सयौ स्थानीय जनताले दुइ छाक खाना मात्र खाएर निःशुल्क पुल निर्माणमा श्रमदान गरेका थिए ।
९० मीटर लामो यो पुल बि.सं. १९८२ मा तैयार भएको थियो । पुल तैयार भए पछि जनताहरु धेरै खुशि भएका थिए । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको जयजयकार गरेका थिए । मटेलाको पुल नामले अहिले पनि प्रख्यात यो झोलुंगे पुल हाल भने जिर्ण हुन थालेको छ । हाल भेरी नगरपालिका वडा नं ११ मा रहेको यस पुलको समयमा नै संरक्षण तथा पूनर्निर्माणमा समयमा नै ध्यान नदिने हो भने मटेलाको पुल पनि इतिहासमा नै हराउन सक्नेछ ।
चन्द्रशम्शेरले मटेलाको पुल निर्माणको समयमा नै खलंगावासीलाई पिउने पानीको पनि समस्या रहेको अवगत गराए पछि खलंगामा १० वटा कलधारा पनि निर्माण गराएका थिए । बुदबुदीमा पानीको ट्याङ्की निर्माण गराइ खलंगा बजारमा बि.सं. १९८४ मा पानी आपूर्तिको ब्यबस्था गरिएको थियो । जाजरकोट दरवारमा एक, चन्द्रशम्शेरको ससुराली हरिबिक्रम शाहको घरमा एक, ठाँटीबजारमा एक तथा अन्य सर्वसाधारण जनताका लागि ६ वटा सार्वजनिक कलधारा जडान गरिएको थियो ।
विक्रम सम्बत् १९८० सालमा मटेलास्थित भेरी नदीमा बनेको पुलले रुकुम र जाजरकोटलाई मात्र जोडेको छैन, यस पुलले केन्द्र सरकार र जाजरकोटलाई समेत ऐतिहासिक रुपमा जोड्ने काम गरेकोे छ । जाजरकोटी राजा जंगबहादुर शाहका कान्छा छोेरा लेप्टेन कर्णेल हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको विवाह वि.सं १९६५ सालमा श्री ३ चन्द्रशमशेर राणासँग भएको थियो ।
चन्द्रशमशेरले बालकुमारीलाई तिम्रो माइती देशको समस्या के छ ? भनेर सोध्दा भेरी नदी तर्न पुल र खानेपानीको समस्या छ भनेर भन्दा तत्काल उक्त कुरा पूरा गरिदिनु भनी चन्द्रशमशेरले आदेश दिएको कुरा एक थरीको भनाइ छ भने, अर्को थरीको भनाइमा बालकुमारीले पुल र खानेपानीको व्यवस्था गरिदिन आफ्ना पति चन्द्रशमशेरलाई आग्रह गरेकी थिइन् । बालकुमारीको कुरालाई चन्द्रशमशेरले खासै चासो नदेखाएपछि उनले भोक हड्ताल नै गर्नु परेको थियो । ‘जबसम्म मेरो माइती देशमा खानेपानी र भेरी नदीमा पक्की पुल हुँदैन तबसम्म दरबारको भुजा खान्न’ भनेर अड्डी लिएपछि पुल र धारा बनाउन भीमशमशेरले १९७३ मा आदेश दिएको कुरा राजुराजा सिंहको जाजरकोट परिचय पृष्ठ ८ र ३२ मा उल्लेख छ ।
तत्कालीन सरकारले पुल बनाउन बेलायत सरकारको सहयोग लिएको थियो । बेलायतको स्कटल्याण्डका एक इन्जिनियरको स्टिमेट तथा डिजाइनमा बनेको यो पुल एक शताब्दी पुग्न लाग्दा पनि जस्ताको तस्तै छ । दाङ्गको कोइलावास नाकाबाट हात्तीद्वारा पुुलका लागि आवश्यक पर्ने फलामे (लहरा) लठ्ठा ल्याइएको थियो । जाजरकोटवासीले पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी लगायतका काममा श्रमदान गरेका थिए । यो झोलुंगे पुलमा सुरुमा काठका फ्ल्याक राखिएको थियो । दश–दश वर्षमा काठ फेर्ने गरिन्थ्यो । ५० को दशकपछि स्टिल पार्ट राखिएको छ । तत्कालीन जाजरकोट राज्यले उक्त पुल तरेबापत् कर लिने गर्दथ्यो । एकपटक पुल तरेको सुरुमा दुई पैसा, पाँच पैसा हुँदै १० पैसासम्म असुल गर्ने गरेको बूढापाकाहरु भनाई रहेको छ । २०१८ सालपछि राज्य रजौटा उन्मूलन गरिएपछि तत्कालीन पञ्चायत सरकारले २५ पैसा हुँदै ५० पैसासम्म कर असुली गरेको पाइन्छ । बहुदलीय व्यवस्थाको पुनस्र्थापनासँगै पुल तरेको कर लिन पनि बन्द भएको थियो ।
सदरमुकाम खलंगाबाट ६ किलोमिटरको दूरीमा रहेको मटेला पुल क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने ठाउँ हो । चलचित्र छायाङ्कनका लागि पनि यो क्षेत्र उपयुक्त मानिन्छ । पुल बनेको चार वर्षपछि अर्थात् १९८४ सालमा बुदबुदीबाट पानी ल्याएर खलंगामा खानेपानी ल्याइएको थियो । जाजरकोट दरबार रहेको खलंगा क्षेत्रमा खानेपानी नहुँदा खानेपानीको निकै समस्या थियो । सदरमुकाम आसपासमा रहेका मुहान गर्मीयाममा सुक्ने भएकाले मानिसहरु कोठखोला, फूलबारी, मूलपानी, स्याला लगायतका ठाउँबाट पानी बोकेर ल्याउने गर्दथे । दरबारमा सबै रैतिले पालैपालो पानी बोकेर पु¥याउनु पथ्र्यो ।
आयोजना सम्पन्न भएपछि खलंगामा २४ सै घण्टा आउने १० कलधारा सञ्चालनमा ल्याइएको थियो । खानेपानी पुगेपछि खलंगावासी निकै खुसी भएका थिए । चारैतिर वनजंगलले घेरिएको बुदबुदी क्षेत्र निकै मनमोहक छ । त्यतिबेला निर्माण गरिएको सदरमुकामका कतिपय धाराहरु हटाइए पनि बुदबुदी क्षेत्रमा निर्माण गरिएका खानेपानीका ट्यांकी संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । खानेपानी र पुलको समस्या समाधान गरिदिएकोमा अहिले पनि राजकुमारी बालकुमारी शाहलाई जाजरकोटवासीले सम्झि रहन्छन् । उनको योगदानलाई जाजरकोटबासीले उच्च कदर तथा सम्मान गरिरहेका छन् ।
















































। १७ भाद्र २०७८, बिहीबार