
नेकपा एमाले जाजरकाेटका नेता डम्वरहरू सिहं पार्टीकाे जनजागरण अभियानमा तुइन तृदै नलगाड नगरपालिकामा : तस्विर सामाजिक सञ्जाल
जाजरकोट । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा दुई बर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । २०७२ असोजमा प्रधानमन्त्रीको कार्यभार सम्हाले लगत्तै ओलीले गरेको पहिलो निर्णय थियो यो । आर्थिक बर्ष २०७२÷०७३ को बजेट भाषणमा पनि तुइन विस्थापन गर्ने घोषणा गरिएको थियो ।
उनी दोस्रो पटक प्रधानमन्त्री बनी कार्यकालमा सकेर प्रधानमन्त्री शेरबहादुर देउवा बनिसकेका छन् । तर तुइन भने अझैं विस्थापन भइसकेका छैनन् । दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।
पुर्वी जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ को ठुलाबगर र वडा नं.८ मैदे मालुवातराबाट भेरी नदी तरेर रुकुम जान तुईनको सहारा लिनु पर्ने बाध्यता छ । त्यस्तै पश्चिम जाजरकोटको शिवालय गाँउपालिकाबाट छेडागाड(ठुलो खोलालाई गाड भनिन्छ ) तरेर छेडागाड नगरपालिकाको कार्कीगाँउ जान शिवालय गाँउपालिका १ सालतडा र शिवालय गाँउपालिका ९ बालुवामा तुईनको ब्यवस्था छ । त्यही तुईनको साहाराबाट स्थानिय वारपार गर्छन ।
जाजरकोटको शिवालय गाँउपालिका १ का तिलक विक नदी तरेर पारीपट्टी जानु परे तुइनकैै साहारा लिनु पर्ने बाध्यता रहेको सुनाउँछन् । नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनकै साहारा लिनु परेको उनको भनाई छ । झोलुङ्गे पुलको लागि पटक पटक माग गरेपनि सुनुवाई हुन नसक्दा जोखिम मोलेरै तुनइबाट वारपार गर्नु परेको उनले गुनासो गरे ।
शिवालय गाँउपालिका १ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाँउ जोड्ने छेडागाड (खोला) तर्न स्थानियले बषौं देखि तुइनको साहारा लिने गरेका छन् । तुईन नहुँदा स्थानियलाई छेडागाड तर्न निकै सकस हुन्थ्यो । बर्षातको समयमा ५ घण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गथ्यौ छेडागाड नगरपालिका १२ कार्कीगाँउका एक स्थानीय भने ‘चिन्डा, नाउ(डुङ्गा) लगायतका साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाए । २५ बर्ष अघि तुईन बनेपछि जोखिम भएपनि केही सहज त भएको छ । तर महिला, बालबालिका र जेष्ठ नागरिकलाई तुईन तर्न निकै सकस हुन्छ ।’
त्यस्तै नलगाड १ ठुलाबगरकाका स्थानिय बर्षौदेखि तुईनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् । स्कुले बालबालिका, बृद्धबृद्धा लगायतलाई तुईनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता छ । ठुलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पाली लगायत गाउँका एक सय घरपरिवार स्थानीय प्रविधीबाट निर्मित तुईनकै भरमा वारपार गर्न वाध्य भएको छ भने शिक्षक र विद्यार्थीहरु पनि यसैगरी तुइनबाटै नदी वारपार गर्नुपर्ने बाध्यता स्थानियको भनाई छ ।
तुईन तरेरै जिन्दगी वित्न थालेको स्थानीयको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसंग आग्रह गर्दा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेड् घण्टा समय लाग्छ । त्यो पनि जोखिमपुर्ण भीरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यान समेत गैसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनु भन्दा जोखिमपूर्ण तुईनकै सहायता लिनु जाति भएको नलगाड १ ठुलाबगरका दिनेश पुनले बताए ।
















































। १६ भाद्र २०७८, बुधबार