
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) २२ औं सम्मेलनको तयारीमा जुटिरहेको छ । अखिल क्रान्तिकारीले देशको शैक्षिक क्षेत्र, विद्यार्थीको मागहरु सम्बोधन गर्ने मात्र नभई देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता र जनजीविकाको सवालमा पटकपटक बोल्दै आएको छ ।
देशको सीमामा छिमेकीले आक्रमण गर्दा होस् या कसैले देशको भौगोलिक क्षेत्रमा आक्रमण गर्दा चर्काे विरुद्धमा उत्रने र देश रक्षाका लागि महत्वपुर्ण भुमिका खेल्ने विद्यार्थी संगठन हो । विगत २ बर्ष देखि विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले नेपाल मात्र नभई विश्वमा शक्तिशाली मुलुकका समेत थला पारिहेको छ । यस्तो अवस्थामा देशको शैक्षिक अवस्था, विद्यार्थी संगठनको भुमिका र सम्मेलनले कस्तो खालको नेतृत्व छान्दैछ भन्ने विषयमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं जाजरकोटका सह ईन्चार्ज अटल आचार्य संग हाम्रो पहुँच डटकमले संक्षिप्त गरेको कुराकानी प्रस्तुत छ ।
१. स्वागत छ यहाँलाई ।
धन्यवाद ।
२. अनेरास्ववियू(क्रान्तिकारी) अहिले के गर्दैछ ?
अनेरास्ववियू(क्रान्तिकारी) यति बेला संगठनको २२ औं राष्ट्रिय सम्मेलनको तयारीमा छ । असोजको ८–१० सम्म राष्ट्रिय सम्मेलन र भाद्र २९ र ३० गते कर्णाली प्रदेशको प्रथम सम्मेलन को मिति तय भएको छ । केन्द्रिय समिति द्वारा निर्धारित मितिमा सम्मेलन सम्पन्न गर्ने ध्येयका साथ हामी देश भर संगठन निर्माणको अभियानमा छौँ । प्रदेश, जिल्ला र स्थानीय तहका सम्मेलनहरुमा केन्द्रित छौँ ।
३ . तपाई अखिल क्रान्तिकारीको केन्द्रिय कमिटीमा पनि हुनुहुन्छ , कोरोनाले थला पारेको शिक्षा क्षेत्रलाई विद्यार्थी संगठनले कसरी हेरिरहेको छ ?
विश्व कोरोना महामारीले आक्रान्त भएको वर्तमान स्थितिमा हाम्रा सामु विगतमा हामीले भोगेका भन्दा नयाँ चुनौती खडा भएका छन् । शिक्षा क्षेत्र यो महामारीको आक्रमण बाट अप्ठ्यारोमा परेको छ । हाम्रा दैनिकीहरु फेरिएका छन् । हरेक मनसपटलमा त्रासपुर्ण वातावरणको सिर्जना भएको छ ।
विशेषत विद्यालयस्तरका बालबालिकाहरु यो माहामारीको प्रमुख चपेटामा परेका छन् । अन्य क्षेत्रहरू बिस्तारै तङगृदै गएता पनि यो क्षेत्रको स्थितिमा सुधार हुन सकेको छैन् । बिगत लामो समय देखी विद्यार्थीहरु विद्यालय जान सकेका छैनन् । वैकल्पिक शिक्षा प्रणाली सबै विद्यार्थीको पहुँचको विषय बन्न सकेन ।
अब हामिले विलम्ब नगरी शैक्षिक गतिविधि संचालनमा लाग्नु पर्ने बेला भएको छ । विद्यार्थीलाई भ्याक्सिनको ब्यवस्था लगायतका काम यथासिघ्र संचालन गर्नुपर्छ । पठनपाठनमा सहजीकरण गर्नतिर लाग्नुपर्छ । म तपाईहरु मार्फत सबै सरोकारवालाहरु संग यो विषयना गम्भीर बन्न आग्रह गर्दछु ।
४. अनेरास्ववियू(क्रान्तिकारी)को केन्द्र देखि स्थानीय तह सम्म अधिवेशनको माहोल तातिएको छ, कस्तो खालको कमिटी निर्माणलाई प्राथमिकतामा राखिएको छ ? संगठन निर्माणका केके कुराको समावेश गरिन्छ ?
निश्चित रूपमा हामी सम्मेलनको तयारीमा लागेका छौँ । अलि लामो समय एकता र विभाजनका विभिन्न शिलशिलाहरुमा हामी जोडिएको कुरा सबै माझ जगजाहेर छ ।
लामो समय नेतृत्व जाम भयो । नयाँ साथीहरूले जोडिने अवसर पाउनु भएन । यी विविध कारणले हाम्रो संगठनमा लामो समय देखि एकखालको अन्यौलता बाट पनि गुज्रिएको कुरा लुकाउनु हुदैन् ।
क्रान्तिकारी ले नयाँ नीति र नयाँ नेतृत्व निर्माणका लागि सबै तहका सम्मेलन गर्दैछ । देश संघीय संरचनात्मक ढाँचामा संचालित भैरहेको बेला हामिले हाम्रो संगठनलाई पनि त्यसअनुरुप लैजानुपर्ने कुरालाई बढी महत्व दिएका छौँ । जनताका छोराछोरीहरुको प्रिय दस्ताको रुपमा अब हामी अखिल(क्रान्तिकारी) लाई अगाडी लैजान्छौ ।
सबै जाति,क्षेत्र र लैङ्िगक समानताको साझा चौतारीका रुपमा हामी यसलाई अगाडी बढाउन चाहान्छौ । वास्तविक विद्यार्थी जो क्याम्पसमा नियमित अध्ययन गर्छन, वास्तविक विद्यार्थी जो युनिभर्सिटीहरुमा नयाँ खोज तथा अन्वेषणमा क्रियाशिल छन , त्यस्ता नौजवानहरु सम्मिलित संगठनको रुपमा क्रान्तिकारीलाई रहर लाग्दो र भर लाग्दो बनाउने हाम्रो उदेश्य हो ।
५. विद्यार्थी संगठनमा पनि गुटउपगुटका कुरा चलिरहेको छ , के अनेरास्ववियू(क्रान्तिकारी) भित्र पनि गुटउपगुट सिर्जना भएकै हो ?
जिवन्त संगठनमा बहसहरु हुन्छन्, छलफल हुन्छन् । झन लामो समयको अन्तराल पछि सम्मेलन हुँदै गर्दा नीति भन्दा नेतृत्व प्रधान मान्ने मनोभावको जन्म पनि हुन्छ । हामीले यसलाई अन्यथा सोच्नु हुँदैन् । सबै खाले छलफल र बहसका लागि नै सम्मेलनको आयोजना गरिएको हो ।
हामिले २१ औं राष्ट्रिय सम्मेलनमा निर्वाचन प्रणालीलाई अंगिकार गरेका कारण अहिले केही समस्या अवश्य देखिन खोजेका छन् । तर हामिले निर्वाचन प्रणालीलाई भद्दा संसदिय अभ्यासको रुपमा प्रयोग गरेका छैनौं र गर्नुपर्ने आवश्यकता पनि म देखदिन ।
तपाइले भने जस्तै क्रान्तिकारीमा गुटउपगुट छैनन् । विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन लामो संघर्ष बलिदान र त्यागको भावना सहित यो ठाउँमा आइपुगेको नेतृत्व गुटउपगुट मा लिप्त हुन्छ् जस्तो मलाई लाग्दैन् ।
६. नेपालको शिक्षा प्रणाली व्यवहारिक नभई सैद्धान्तिक मात्र छ, शिक्षा प्रणाली सुधारका लागि तपाईहरुको कस्तो भुमिका रहन्छ ?
हामी माझ बिद्यमान शिक्षा प्रणाली र यसका समस्याहरुको बिषयमा र समस्या समाधानको बिषयमा हामीले विभिन्न गोष्ठी र छलफल आयोजना गरेका छौँ । अस्ति भर्खरै मात्र पुर्बविद्यार्थी नेताहरू संगको अन्तरक्रिया सम्पन्न गरेका छौँ ।
सम्मेलन नजिकिदै जाँदा यो खालका गतिविधिलाई हामी अब झनै निरन्तरता दिन्छौं । म अपेक्षा गर्छु । २२ औं राष्ट्रिय सम्मेलनले शिक्षा प्रणालीको सुधारको विषयमा निर्मम भएर छलफल गर्ने छ र शैक्षिक समस्या समाधानको लागि स्पष्ट गोरेटो को निर्माण गर्ने छ र आफ्ना गतिविधि लाई अगाडि बढाउनेछ ।
७. अरु पार्टीका विद्यार्थी संगठन भन्दा माओवादी केन्द्रको विद्यार्थी संगठन कमजोर छ भन्ने जनगुनासो आउँछ साँच्चिकै कमजोर बनेको हो ?
यो सरासर गलत कुरा हो । अखिल(क्रान्तिकारी) नेपाली विद्यार्थी आन्दोलनको मियोको रुपमा छ । यसलाई नजर अन्दाज गर्न धेरै अगाडी जानू पर्दैन ।
तपाईंले हेर्नुभयो होला हामी प्रतिगमन विरुद्धको आन्दोलनमा सबैभन्दा सक्रिय सबैभन्दा उर्जाशिल र सबैभन्दा अग्रमोर्चामा सहभागी थियौ । नेपाली जनताको लामो त्याग र बलिदान बाट प्राप्त उपलब्धीलाई जसरी निमिट्यान्न पार्ने कोशिस गरियो त्यसको भन्डाफोरमा संघ–संगठन लाई सडकमा आउने वातावरणको निर्माण ग¥यौ ।
त्यति मात्र होइन जनजिविकाका सवालमा अखिल(क्रान्तिकारी) दृढतापुर्वक उभिएको छ । सबैखाले विकृति र बिसङ्गतिका विरुद्ध क्रान्तिकारीले आगो ओकल्ने काम गरेको छ । यस्तो अवस्थामा अखिल(क्रान्तिकारी) कसरी कमजोर ठहरिन्छ ? बरु जनताले बुझेका छन् । आम शिक्षा क्षेत्रका सरोकारवालाहरुले बुझेका छन नेपाली विद्यार्थी आन्दोलनको मुल प्रवाह भनेको अखिल(क्रान्तिकारी) हो । समकालीन विद्यार्थी संगठनहरुमा अखिल(क्रान्तिकारी)को उपस्थिति गरिमामय छ ।
८. अखिल क्रान्तिकारीले भावी कस्ता खालका शैक्षिक मुद्धाहरु उठाउने योजना बनाएको छ ?
संविधानले गरेको परिकल्पना अनुरुपका शैक्षिक मुद्धा नै कार्यान्वयनको फेजमा लैजान जरुरी छ । यति मात्र गर्नसक्ने स्थिति बन्यो भने पनि त्यो महत्वपुर्ण उपलब्धी हुनेछ ।
यसका साथै बेरोजगारहरुको कारखाना बनेका हाम्रा शिक्षालयहरुमा आमूल परिवर्तनको खाँचो छ । युग सुहाउँदो र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको उत्पादन गर्न सक्षम बनाउने वातावरणको निर्माणमा लाग्नु पनि जरुरी छ । अब हामी सम्मेलन मार्फत समाजवादी कार्यदिशा बनाउनेतर्फ लाग्छौ ।
मानव जातिको मुक्ति संग हाम्रो शिक्षा प्रणाली जोडिनुपर्छ । सामुहिक श्रम र सामाजिक चरित्र भएको नयाँ जनशक्तिको विकास अहिलेको अर्को आवश्यकता हो हामीले त्यतातिर पनि नजरअन्दाज गर्नुपर्ने देखिन्छ ।
९. नेकपा माओवादी केन्द्रलाई आगामी चुनावमा एक नम्बरको पार्टी बनाउन विद्यार्थी संगठनको कस्तो रणनिती बनाउँदैछ ?
पार्टीलाई १ नम्बर बनाउछौँ भन्नू मात्र ठुलो कुरा होइन , बरु हामिले समिक्षा गर्नुपर्ने बेला आएको छ । के माओवादी केन्द्रले बिजय हासिल गरेका स्थानीय तहले शिक्षा क्षेत्रमा ठूलो चमत्कार गर्न सक्यो त ?
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर हामीले विकासका कामलाई अगाडी लैजान सकिम त ? ल त्यो पनि बढी भयो सुधारका कामहरु जनताले अनुभुति गर्ने गरि के के भए ? यसरी हेर्दा म अन्तर देख्दिन् । यसमा गम्भीर समिक्षा गरिनुपर्छ र यस्ता समस्याको हल खोजियो भने माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउन क्रान्तिकारीले सबैभन्दा ठुलो सहयोग गर्न सक्छ ।
अखिल(क्रान्तिकारी)ले खबरदारी यतातिर पनि गर्नुपर्ने देखिन्छ । मुलतः हामिले जनता र पार्टी बिच पुलको काम गर्ने हो । निश्चय पनि अखिल(क्रान्तिकारी) माओवादी केन्द्र को जनवर्गीय संगठन भएको कारण यसको भबिष्यको सवाल हामी संग जोडिन्छ ।
मुलुक माओवादी आन्दोलनले खडा गरेका एजेन्डामा चलिरहेको परिवेशमा मुद्धा बोक्नेहरुले नै सत्ता संचालन गर्ने हो र सत्ता संचालन गर्नेहरू बफादार पनि बन्ने हो भने त्यसको तालमेल मिल्छ भन्ने हो ।
माओवादी केन्द्रका एजेन्डा र यसको जगमा प्राप्त भएका उपलब्धीहरुलाई यो देशका युवा नागरिकहरुको बिचमा लैजाने काम अखिल(क्रान्तिकारी) गर्छ । नयाँ पुस्तालाई माओवादी आन्दोलनमा सहभागी हुन अपिल गर्ने आकर्षण गर्ने र सचेत गराउने काम संगठनले गर्छ ।
१०. अन्त्यमा के भन्नुहुन्छ ?
यो महत्वपुर्ण अवसर दिनु भएकोमा यहाँलाई धन्यवाद छ । तपाईं लगायत हाम्रो पहुँच खबरलाई धेरै धेरै धन्यवाद ।
















































। १६ भाद्र २०७८, बुधबार