समाचार पढिरहेका प्रस्तोता माथि तालिबानले तेर्सायो बन्दुक

एक समाचारवाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन्। बन्दुकधारी लडाकुहरूको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ। केही लडाकुले समाचार प्रस्तोताको काँध पछाडि बन्दुकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार पढ्न दबाब दिन्छन्। यो दृश्य हो आधुनिक अफगानिस्तानको एउटा टेलिभिजन स्टुडियोको ।

४२ सेकेण्ड लामो सो भिडियो क्लिपमा समाचार प्रस्तोतालाई ८ जना सशस्त्र तालिबानले घेरिरहेको देखिन्छन् । उनीहरूले तालिबानको समर्थन जनाउने सामग्री पढ्न दबाव दिइरहेका थिए। मंगलबार विहानसम्म सो भिडियो १० लाखले हेरिसकेका छन् ।

विविसीका याल्दा हाकिमले ट्विट गरेको सो भिडियो क्लिपमा आइतबार दिउसो स्टुडियोमा पुगेर तालिबानले समाचार प्रस्तोतालाई आफूसँग बोल्न दबाव दिएका थिए। प्रस्तोताले लडाकुसँग ‘अन एयर’ मै बहस गरेका थिए ।

तालिबानको दबावपछि प्रस्तोताले अफगान सरकारको पतनबारे चर्चा गर्दै अफगानीलाई त्रसित नहुन आग्रह गरेका थिए। प्रस्तोताले सर्वसाधरणलाई स्टुडियोबाटै तालिबानलाई सहयोग गर्न आव्हान गरेका थिए ।

इरानी पत्रकार मासी अलिनजादले सो भिडियो रिट्विट गर्दै लेखेका छन्,‘यो भिडियो अस्वभाविक छ। तालिबानले समाचार प्रस्तोतालाई बन्दुकको नाल देखाएर आफ्नो धारणा व्यक्त गर्न लगाएका छन् । ’

तपाईको प्रतिक्रिया