सम्झौताको म्याद सकियो, आधा पनि भएन काम

सल्यान । मदन भण्डारी लोकमार्गअन्तर्गत तुलसीपुर–कालिमाटी–बाटेचौर सडकखण्डको कालोपत्रे गर्ने सम्झौताको म्याद सकिए पनि आधा काम भएको छैन ।

कालिका जेभीले २०७८ असार २० सम्म कालोपत्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । यस अवधिमा ३० किलोमिटरमध्ये पाँच किलोमिटर मात्र कालोपत्रे भएको छ। कालिकाले ४४ करोड रुपैयाँमा कलोपत्रे गर्ने सम्झौता गरेको हो ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण कालीमाटीको सिमलकुनादेखि सल्यान–सुर्खेतको सिमाना काच्लेडाँडासम्म सडकको दयनीय रहेको स्थानीय पुरुषोत्तम भट्टाराईले बताए । उनका अनुसार दाङ र सल्यानको सिमानामा पर्ने एक्लेबरदेखि कालीमाटी गाउँपालिकास्थित शारदा पुलसम्म मात्र कालोपत्रे भएको छ ।

कालिका जेभीका ठेकेदार ठाकुर कँडेलले कोरोनाका कारण सडक निमार्णमा ढिलाइ भएको बताए । कोरोना महामारीका कारण लगातार दुई वर्षसम्म सडक निर्माण ठप्प भएको उनको भनाइ छ। लकडाउनकै कारण सममै कच्चा पदार्थ ल्याउन नसकिएको कँडेलले बताए ।

सडक डिभिजन कार्यालय दाङका इन्जिनियर अमीर सुवेदीले ठेकेदारले जनशक्ति र आवश्यक सामग्रीको व्यवस्था गर्न नसक्दा काममा ढिलाइ भएको बताए । काम छिटो गर्न पत्र काटेको तर ठेकेदार कम्पनीले बेवास्ता गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया