पुल निर्माणपछि आवतजावतमा सहज


जाजरकोट । भेरी करिडोर अन्तरर्गत जाजरकोट—डोल्पा खण्डमा पर्ने जाजरकोटको नलगाड र झुम्रे खोलामा बेलीब्रीज संचालनमा आएको छ । बेलीब्रीज संचालनमा आएपछि झुम्रेखोला र नलगाड नदीमा यातायात संचालन गर्न सहज भएको हो ।

सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको छेडागाड खोलामा रहेको बेलीब्रीज निकालेर नलगाड खोला र झुम्रे खोलामा जोडेको छ । उक्त बेलीब्रिज सञ्चालनमा आएपछि सवारी साधनलाई नदी वारपार गर्न सहज हुनुको साथै दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न सहज भएको छ । नलगाड र झुम्रे खोलामा बेलीब्रीज निर्माण भएपछि जाजरकोटको कालिमाटी दल्ली हुदै तल्लुबगरसम्म सिधै सवारी साधनहरु पुग्ने भएको नलगाड–७ का वडा अध्यक्ष अर्जुनबहादुर सिंहले बताए ।

बेलीब्रिजले सवारी साधन सिधै तल्लुबगर पुग्ने बनाएको छ अध्यक्ष सिंहले भने, ‘सवारीलाई आवजावत गर्न सहज हुनुको साथै दैनिक उपभोग्य बस्तुको आपुर्तीमा सहज भएको छ ।’ बेलीब्रिज संचालनमा आएपछि दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको उद्योग बाणीज्य संघ कालीमाटीका अध्यक्ष धनबहादुर रावलको भनाई रहेको छ । यस अघि सवारी तथा ढुवानीका साधन कालिमाटीसम्म पुग्ने गरेको रावलले बताए ।

ट्रक र ट्याक्टरले कालीमाटीसम्म पुर्याएको सामानलाई बारेकोट, कालीमाटी, दल्ली, कैना, तल्लुवगर, डोल्पा लगायत स्थानमा लैजान थाप्लोमा बोकेर झोलुङ्गे पुलबाट तार्नपर्र्ने वाध्यता रहेको थियो । बेलीब्रिज सन्चालनमा आएपछि सदरमुकाम खलंगा, सुर्खेत, नेपालगंज तथा खलंगा कालीमाटी, बारेकोट तल्लुवगरसम्मको यात्रा यात्रा गर्न सहज भएको छ । बेलीब्रिजले नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र डोल्पाका नागरिकलाई आवजावत गर्न र उपभोग्य बस्तु ढुवानी गर्न सहज बनाएको छ ।

तपाईको प्रतिक्रिया