१४ भाद्र २०७८, सोमबार

मुगुका खाद्य गोदाम रित्तै, स्थानीय बजारको महंगो चामल खान बाध्य

लाखौं मूल्यको चामल गोदाममै कुहियो

                                                         फाइल तस्विर
मुगु । ग्रामीण क्षेत्रका खाद्य गोदाममा चामल नहुँदा स्थानीयवासी महँगोमा बजारको चामल किनेर उपभोग गर्न बाध्य छन् । चालु आर्थिक वर्षको चामल ढुवानी नहुँदा सोरुकोट, श्रीकोट, पुलु, कालै र रातापानी खाद्य गोदाममा चामल सकिएको हो ।

ती खाद्य गोदाममा खाद्यान्न मौज्दात शून्य छ । गत असारदेखि खाद्य गोदामहरू रित्तिएका हुन् । खाद्य डिपोमा ताला लगाएर कर्मचारी घरतर्फ लागेका छन् । खाद्य डिपो रित्तिएपछि स्थानीयवासी बजारबाट महँगो मूल्यमा खाद्यान्न खरिद गरी उपभोग गर्न बाध्य छन् । ‘ढुवानी अनुदानको चामल गाउँमा कहिल्यै आउँदैन,’ सोरुकोटका कमल शाहीले भने, ‘बजारबाट २ गुणा महँगो मूल्यमा चामल किन्नुपर्ने बाध्यता छ ।’ खाद्य डिपोमा ५२ रुपैयाँ प्रतिकिलो पाइने चामल पनि बजारमा ८० रुपैयाँमा किन्नुपरेको उनले गुनासो गरे ।

चामल नपाइने समस्या वर्षौंदेखि रहेको सोरु गाउँपालिका–६ का पदमबहादुर शाहीले बताए । उनका अनुसार अन्न उत्पादन कम हुँदा अधिकांश बासिन्दालाई बाहिरको चामल किन्नुपर्ने बाध्यता छ । ‘पुरानो अन्न सकियो,’ उनले भने, ‘नयाँ अन्न पाकेको छैन ।’ उनले सोरुकोट डिपोमा चामल नहुँदा भीई, नार्थपु, जिमालगायत गाउँका बासिन्दा सदरमुकाममा चामल लिन आउनुपर्ने बाध्यता रहेको बताए ।

डिपोमा चामल ढुवानी नहुँदा स्थानीयले खाद्यान्न अभावको सामना गर्नुपरेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनका अनुसार अधिकांश घरधुरीमा आफ्नै उत्पादनले ६ महिनाभन्दा बढी खान पुग्दैन । ‘डिपोमा चामल आए विपन्न परिवारलाई राहत मिल्थ्यो,’ उनले भने, ‘कतिपयले ऋण गरेरै भए पनि खाद्यान्न किनेका छन् ।’ मुगुमकार्मारोङको पुलु खाद्य डिपो पनि झन्डै २ महिनादेखि रित्तै हुँदा ९ वटै वडाका बासिन्दा छाइल बजार पुगेर चामल खरिद गर्न बाध्य भएका गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार खाद्यको चामल २५ किलोको बोराको १ हजार ५ सय ६० रुपैयाँ पर्ने भए पनि स्थानीयवासी बजारमा २ हजार रुपैयाँ प्रतिबोरा चामल खरिद गर्न बाध्य छन् ।

दुई घण्टा उकालो चढेर डिपोमा चामल लिन आए पनि नपाएपछि रित्तै फर्किनुपरेको सोरु गाउँपालिका–४ का खाम्मा ढोलीले बताए । ‘व्यापारीको महँगो चामल किन्न पैसा छैन,’ उनले भने, ‘घरमा अनाज सकियो के खाएर बाँच्ने ?’ यो वर्ष खडेरीले गहुँबालीको उत्पादन नहुँदा सोरुको कालै, रावलबाडा, नेर दलित बस्ती, बन्जाहा, पुरुमुरु, नार्थपुलगायत दुई दर्जन बस्तीमा खाद्यान्न अभाव भएको उनले बताए ।

खाद्यमा कहिले चामल आउला भन्दै स्थानीयले प्रतीक्षा गर्न थालेको उनले बताए । उनका अनुसार डिपोमा चामल नभएपछि सोरुकोट बजार र हुम्लाको बालुकुना पुगेर चामल खरिद गर्नुपर्ने बाध्यता छ । खाद्य डिपोमा २५ केजी बोराको चामल १ हजार ५ सय रुपैयाँमा पाइने भए पनि स्थानीय बजारमा उही चामल २ हजार २ सय रुपैयाँमा किन्नुपरेको उनको गुनासो छ । खाद्य डिपोमा चामल नहुँदा कर्मचारी, सुरक्षाकर्मी र स्थानीयलाई कठिनाइ भएको सोरुकोट इलाका प्रशासन कार्यालय प्रमुख खडगबहादुर बस्नेतले बताए । सरकारले स्थानीय र कर्मचारीको पीरमर्का बुझेर छिटो डिपोमा चामल ढुवानी गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार कालै बिक्री केन्द्रमा एक दाना पनि चामल नहुँदा करिब २ सय परिवार खाद्य अभावको समस्यामा छन् ।

कोरोनाका कारण तिब्बत नाका बन्द हुँदा पनि मुगुका ग्रामीण क्षेत्रमा खाद्यान्न समस्या भएको हो । चीनबाट आपूर्ति नहुँदा र डिपोमा चामल नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष लामाले बताए । उनका अनुसार चिनियाँ नाका नखुल्दा गाउँपालिकामा नुनको पनि अभाव भएको छ ।

गत वर्षको १० हजार क्विन्टल चालको कोटा सकिएको र यो वर्ष टेन्डर प्रक्रियामा ढिलाइ हुँदा खाद्यान्न ढुवानीमा समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख पुस्कर भामले बताए । उनका अनुसार अहिले सदरमुकाम गमगढीको मुख्य गोदाममा ११ सय क्विन्टल चामल मात्र जगेडा छ । चालु आर्थिक वर्षको टेन्डर स्वीकृत भएपछि जिल्लाभरि करिब १७ हजार क्विन्टल चामल ढुवानी हुने उनले जानकारी दिए ।