ट्विटरमा गलत सूचना राख्ने विरुद्ध उजुरी गर्न पाइने


वासिङ्टन। चर्चित सामाजिक सञ्जाल ट्विटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्विटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्विटरका सञ्चालकहरूले आशा व्यक्त गरेका छन् । व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइज्जती गर्ने, अर्काको स्वतन्त्रता हनन गर्नेजस्ता कार्यका विरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था ट्विटरले गरेको थियो ।

गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिन सकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन् ।विशेष गरेर राजनीति, जनस्वास्थ्यलगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्विटरको प्रयास हो ।

कुनै ट्विटर ह्यान्डलबाट पटक पटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निष्क्रिय परिदिनेसम्मको योजना ट्विटरले बनाएको जनाइएको छ ।

अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया