‘आमा, दिदी बहिनी हो…!’ क्रान्तिकारी आवाजको अन्त्य


काठमाडौँ — प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक हुन्- जेबी टुहुरे । २००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय, समानता र परिवर्तनको पक्षमा उभिदैँ जनमत निर्माणका लागि आफ्नो आवाज दिए । माले भूमिगत हुँदा सांँस्कृतिक कार्यक्रममार्फत् पार्टीका एजेण्डा उनले आमजनता माझ पुर्‍याए । जेबीको पूरा नाम जुठबहादुर खड्गी हो । २०२१ मा बुवाको निधनपछि उनी टुहुरो बने । त्यतिखेर नामको पछाडि ‘टाइटल’ राख्ने चलन थियो । उनले आफ्नो नामको पछाडि ‘टुहुरे’ थपे । त्यसयता प्रगतिशील गायन क्षेत्रमा उनी टुहुरेकै नामैले चिनिए ।

२०२० को दशकदेखि कम्युनिष्ट पार्टीको निकटमा रहेर पार्टी निर्माणका लागि गीत गाउँदै हिँडे उनी । २०६६ मा उनी माओवादीमा प्रवेश गरे । त्यसयता उनी माओवादीका धेरै फोरमहरूमा देखिए । माओवादीकै सिफारिसमा उनी दोस्रो संविधानसभामा सदस्य समेत भए ।

क्रान्तिकारी गीत गाएकै कारण उनले कयौंपटक जेलको छिंँडीमा पुग्नुपर्‍यो । उनी तत्कालीन मालेका नेता मात्रै नभइ सांंस्कृतिक टोलीका अगुवा पनि थिए । उनले पार्टीको लागि गाउँदै हिँड्दा जीवन गुजाराका लागि कपडा पसल चलाउनेदेखि सागसमेत बेच्ने भ्याए । किताब पसल र होटल समेत चलाए ।

२०४६ सालसम्म विराटनगरमा रहेर पार्टीका लागि गाउँदै हिँडेका टुहुरे २०४७ पछि भने काठमाडौं आएका थिए । पाँचदशक प्रगतिशील सांंस्कृतिक क्षेत्रमा सक्रिय रहेका टुहुरेका ‘आमा दिदी बहिनी’, ‘बसाईं हिँड्नेको ताँतीले’, ‘आँधी खोलैले’, ‘चौंरी चर्ने ठाउँमा’, ‘छोराहरु हो’, ‘जुनीभरी मुटु’, ‘दुःखको बोझ’, ‘रातको अनिँदो’ लगायतका थुप्रै चर्चित गीत गाए । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ, सुखको सधैँ प्यासी बनेर’ भन्ने गीत हजार भन्दा बढी स्टेज प्रस्तुत गरिएको गीतमा पर्छ ।

जन–सांंस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई राज्यको दमन, हत्या र हिंसाविरुद्धको अभियानमा टुहुरेले नेतृत्व गरेको बताउँछन् । ‘२०४२/४३ तिर उहाँसँग धरानमा भेट भयो । धेरै राम्रो गायक हुनुहुन्थ्यो । उहाँको स्वरको क्वालिटी पनि राम्रो थियो । लामो समय मेची महाकाली अभियानमा सँगै घुमियो । विभिन्न अभियानमा सँगै हिँडियो । उहाँ एक समर्पित गायक हुनुहुन्थ्यो,’ उनले सम्झनामा भने । माओवादीको जनयुद्धको बेला शान्ति सांंस्कृतिक मेची- महाकाली अभियान समेत टुहुरेसहित गरेको उनले बताए ।

त्यतिबेलाका अभियानमा टुहुरेका निकै गीत रुचाइएको राईको भनाई छ । पार्टी प्रतिबन्धित हुँदा जनतासामू पार्टीको कुरालाई टुहुरेको साँस्कृतिक कार्यक्रमले लिएर जाने गरेको बताउँछन् । ‘भूमिगत हुने समयमा पार्टीहरू प्रतिबन्धित थिए । त्यतिखेर जनतालाई पार्टीप्रति आस्थावान बनाउन त्यस्ता थुप्रै कार्यक्रमहरु गरियो । थुप्रैबाट बाधाहरु आए, सुराकी हुन्थ्यो । बहुदल आइसकेपछि ०४८ सालको चुनावको बेलामा नेपाली कांग्रेसका स्टेजहरू जलाइयो त्यतिबेला हामीसँगै थियौं ।’

संगीतकार राजेश थापा भने जेबीलाई आफ्नो अभिभावक मान्छन् । १३ वर्षको उमेरदेखि नै टुहुरेको हात समाएर उनीसँग गाउन हिँडेका थिए, थापा । ‘म १२/१३ वर्षको उमेरदेखि उहाँ सँगसँगै हिँडेको छु,’ थापाले भने, ‘उहाँलाई पहिलोपटक विराटनगरको कार्यक्रममा भेटेको थिएँ ।’

थापाका अनुसार टुहुरेले आफैंले लेखेर धेरै गीत गाएनन् । अरुले लेखिदिएको गीत भने एक–डेढ घण्टा गुनगुनाउने बित्तिकै टुहुरेले नयाँ लयसहित गीत बनाइदिहाल्थे । थापाको समूहले त्यसमा संगीत भरिसकेपछि उनीहरू विभिन्न कार्यक्रमदेखि अभियानमा गीत प्रस्तुत गर्थे ।

थापाका अनुसार गीत गाउने भनेपछि टुहुरेमा अर्कै प्रकारको स्फूर्ति आउँथ्यो । ‘उहाँले जनताको बीचमा जाँदा कहिल्यै थाकेँ, गार्‍हो भयो, अल्छी लागेको छ भन्नुभएको मैले देखिनँ,’ उनले भने, ‘उहाँ जतिसुकै थाकेको भए पनि, गलेको भए पनि, लामो बाटो हिँडेको भएपनि गाउँघरमा ‘ल जेबी दाई गीत सुन्नुपर्‍यो’ भन्दा तुरुन्तै तयार भइहाल्नुहुन्थ्यो । हामीलाई ‘ल केटा हो, बाजा तयार गर भन्नुहुन्थ्यो । म हार्मोनियम, मादल बजाउँथेँ । साँस्कृतिक टिमको व्यवस्थापनको जिम्मा मलाई दिनुहुन्थ्यो । म कलाकारको संयोजन गर्थेँ ।’

थापाको दाबीअनुसार टुहुरेले संगीतको कुनै औपचारिक शिक्षा लिएनन् । ‘उहाँलाई त गीत गाउनकै लागि धर्तीमा जन्मदिएको भन्छु म । कसैले गीत दियो भने उहाँ पहिला गुनगुनाउनुहुन्थ्यो । गुनगुनाउँदा गुनगुनाउँदै लय बनाइहाल्नुहुन्थ्यो । अनि हामीलाई सुनाउनुहुन्थ्यो,’ जेबीसँगको पुरानो यात्रा सम्झँदै भने, ‘त्यसपछि त्यही लयमा हामी बाजा भर्‍थ्यौं । धुनहरु बनाउँथ्यौं, अनि स्टेजमा प्रस्तुत गरिहाल्थ्यौं ।’

जेबीका लागि गीत तयार गर्न डेढघण्टादेखि एकदिनसम्म लाग्थ्यो । तर गीत गुनगुनाउन थालेपछि अधिकांश गीतमा मिठो लय निस्किहाल्थ्यो । ‘त्यस्तो अद्भुत क्षमताको गायक हुनुहुन्थ्यो उहाँ,’ उनले भने, ‘उहाँ बाजाहरू लिएर गुनगुनाउने होइन कि शब्द सुनेर गुनगुनाउने गर्नुहुन्थ्यो । उहाँले आफैंले धेरै गीत लेख्नु भएन । प्रगतिशील फाँटमा राम्रा लेखकहरूका गीत गाउनुभयो ।’

टुहुरेको सबैभन्दा चर्चित गीत ’आमा दिदी बहिनी हो’ का लेखक एकदेव ज्ञवाली हुन् । सो गीतलाई टुहुरेले एउटा पत्रिकामा पढेपछि धुन भरेका थिए । ‘त्यसको अन्तिम हरफ ‘जाग उठ नारी हो सिर्जनाको घाम बनेर’ भन्ने अंश बम देवानले थप्नुभएको हो,’ थापाले भने ।

‘आमा दिदी बहिनी हो’ टुहुरेलाई चिनाउने गीत हो । थापाले भने, ‘ यी गीतलाई एउटै स्टेजमा २/४ पटकसम्म गाएका छौं । हरेकपटक गाउँदा ‘वान्समोर’ आउँथ्यो ।’

जेबी र आफ्नो राजनीतिक बाटो छुट्टिएको दिन खुबै रोएको अझै उनी सम्झन्छन् । ‘२०६६ मा उहाँ माओवादीमा जानुहुँदा दाइ, मधु गुरुङ र म रातभरी रोएका थियौं । ‘उहाँले ‘तिमीहरू आफ्नै ठाउँमा बस, मलाई त्यस्तै भयो । म जान्छु भन्नुभयो । हामी माओवादी पार्टीमा जान सकेनौँ । माओवादीमा गएर टीका लगाउने दिनमा पनि मैले मोटरसाइकलमा आधा बाटोसम्म पुर्‍याएर फर्केँ,’ उनले भने,’ मलाई धेरै गार्‍हो भयो ।’

तत्कालीन अवस्थामा कम्युनिष्ट पार्टीको प्रभावलाई जनतामाझ फैलाउनमा टुहुरेको गीतको पनि भूमिका रहेको थापाको दाबी छ । ‘पश्चिमतिर त भन्दिन तर, पूर्वाञ्चल क्षेत्रमा पार्टीप्रति जनताको रुझान बढ्नुमा उहाँको गीतले महत्वपूर्ण भूमिका खेलेको छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

काठमाडौंको कलंकीमा बस्दै आएका टुहुरेका श्रीमती, एक छोरा, चार छोरी छन् । उनी माओवादी केन्द्रका सल्लाहकार समेत थिए ।

साभार तस्बिर जेबी टुहुरे फाउण्डेसन

तपाईको प्रतिक्रिया