निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जाने एमाले

फेरि पार्टीमा फर्किन चाहनेलाई ढोका खुल्ला


काठमाडौं : नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले विवादित विषयमा आयोग र सभामुख मुछिएकाले अदालत जाने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘पार्टीले कारबाही गरेको र अनुपस्थित भएकाहरूको निर्वाचन आयोगले सनाखत गरेको छ । यस्तै पार्टीले सांसदहरूमाथि गरेको कारबाही सभामुखले रोक्नुभएको छ। त्यसविरुद्ध हामी कानुनी उपचारमा जान्छौं।’

यस्तै, सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा २१ दिनभित्र जनप्रतिनिधिहरूले दल रोज्न पाउने विषयमा पनि कानुनी प्रतिवाद गर्ने उनले बताए। पार्टीले सबै विषयमा आवश्यक तयारी गरेर अदालत जाने उनको भनाइ छ ।

प्रवक्ता ज्ञवाली भन्छन्, ‘सनाखत गर्ने भनेको हस्ताक्षर गरेको रुजु गर्ने हो। तर, हस्ताक्षर नै नभएको र उपस्थित नै नभएका व्यक्तिको पनि सनाखत गरेको छ। निर्वाचन आयोगले विवाद समाधानका लागि भूमिका निर्वाह गर्नुपर्नेमा विवादित काम गरेको छ ।’

बैठकले स्थायी कमिटीको १० बुँदे सहमति कार्यान्वयनलाई मूर्त रूप दिएको उनले बताए ।

‘०७५ जेठ २ मा फर्के पछि पार्टी कमिटीहरू सोही रूपमा चलायमान हुन्छन् । बैठकमा सोहीअनुरूप पार्टीको विधान महाधिवेशन असोजमा र महाधिवेशन मंसिरमा गर्ने विषय पनि अनुमोदन गरेको छ,’ उनले भने ।

पार्टीलाई पूर्ववत् सञ्चालन गर्न महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदल गठन गरेको जानकारी उनले दिए। कार्यदलमा पार्टीको संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चाका इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी छन् ।

नयाँ पार्टी दर्ता गरेर अघि बढेका माधव नेपाल समूहका नेताहरूका एमालेमा फर्कने चाहेमा उनीहरूका लागि फर्कन ढोका खुल्ला राखेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया