
काठमाडौं : सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटामाथि गरेको व्यवहार संसदीय मर्यादा विपरीत भएको बताएका छन् ।
नेपाली कांग्रेसकी सचेत पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङ, जनता समाजवादी पार्टी नेपालको सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेता माधवकुमार नेपाल निकट सांसद जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै एमाले सांसदको गतिविधिको विरोध जनाएका हुन्।
विज्ञप्तीमा भनिएको छ, ’यही भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालय, सम्माननीय सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का माननीय सदस्यहरुले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादा विपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियाहरुमा सम्माननीय सभामुखज्यू विरुद्ध दिनुभएको धम्कीमुलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक भएको विज्ञप्तिमा उल्लेख छ। सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको उनीहरुले आरोप लगाएका छन् ।
’संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो। अतः सम्माननीय सभामुखज्यू विरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
नेता नेपाल समूहका १४ सांसदमाथि कारवाही प्रक्रिया अघि नबढाएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सांसद महेश बस्नेत, शान्ता चौधरीलगायत सांसदहरुले संसद सचिवालयमै पुगेर दबाव दिएका थिए ।

















































। ७ भाद्र २०७८, सोमबार