नलगाड हाईड्रोपावर : आधा दशक वित्यो बनेन् डीपीआर, ८५ प्रतिशत काम सकिएको दावी

खलंगा, १६ साउन । नलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पाँच वर्ष सम्म पनि पुरा हुन सकेको छैन ।

डीपीआरको काम अष्ट्रेलियन कम्पनी स्मेकले गरिरहेको छ । स्मेकले डीपीआरको काम करिब ८५ प्रतिशत सकिएको र सेप्टेम्बरमा काम पुरा हुने दाबी गरेको छ । स्मेक, एम.डब्लु.एच र नेपालको उदय जेभीले संयुक्त रुपमा डीपीआरको काम गरिरहेका छन् ।

सन् २०१६ मा नै ३१ महिनामा डीपीआरको काम सक्ने गरी नलगाड जलविद्युत कम्पनी र सम्वद्ध परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो ।

यसअघि डीपीआरकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म ९ महिना दोस्रोपटक डीपीआरको समयावधि थप भइसकेको छ ।

मन्त्रालयले नलगाड जलविद्युत आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । सरकारले उक्त आयोजनाका लागि वैदेशिक लगानी जुटाउन प्रयास गरिरहेको छ ।

जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले आयोजनामा लगानी गर्ने इच्छा राखेको छ । त्यसबारे पूर्वमन्त्रीहरु, सचिव र सह–सचिवस्तरमा जाइकासँग पटकपटक छलफल भइसकेको छ । डीपीआरको हालसम्म तयार भएको विवरणअनुसार आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट लागत ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ ।

जलाशययुक्त आयोजना भएका कारण जलाशय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने देखिएको हो । नलगाड नगरपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल निर्माण हुने छ ।

नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछ । आयोजनाका लागि बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् ।

यस्तै २४८ मिटर अग्लो बाँध निर्माण हुनेछ । जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुनेछ । आयोजनामा चार वटा टर्वाइन रहनेछन् । प्रत्येक टर्वाइनबाट १ सय ४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा एक हजार २ सय ३२ मेगावाट (घण्टा) ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सवस्टेशनमा जोडिनेछ । नलगाडकै दानीपिपलमा ४०० केभी प्रशारण लाइनको सवस्टेशन निर्माण कार्य जारी छ। नलगाड निर्माणकै लागि चार मेगावाटको ताँसुगाड जलविद्युत आयोजनाको डीपीआरको काम जारी छ ।

पाँच वर्षको प्रगती

आयोजना निर्माण स्लथ र बाध स्थलमा (मेकानिकल टेष्ट) ढुङगाको क्षमता जाँचको काम सकिएको छ। भूमिगत विद्युत उत्पादन गृहमा ३२० मिटर लामो सुरुङ निर्माण भएको छ भने बाँकी ५५ मिटर खन्न बाँकी छ ।

सो कामको लागि भारत लगायत देशबाट मजदुरहरु आउने क्रममा रहेको आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए । थापाका अनुसार डीपीआर निर्माणको काम पाँच महिनाभित्र पुरा हुने अपेक्षा लिइएको छ । आयोजना स्थलमा जग्गा अधिग्रहणको काम सकिएको र बाँकी घरको मुआब्जा दिन मात्र बाँकी छ ।

घरको मुआब्जा दिनका लागि चालु आर्थिक वर्षमा त्यो काम सुरु हुने उनले बताए। आयोजना स्थलमा ६ सय भन्दा बढी घरहरु छन् । २०७६ भदौ २७ गते देखि हाल सम्म निर्माण हुँदै गरेका घरको मुआब्जा आयोजनाले नदिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले निर्णय गरेको हो ।

कालीमाटीदेखि आयोजनास्लथ सम्म पुलबाहेक सडक निर्माण कार्य पुरा भएको छ। पुस मसान्त सम्म पुलको काम सक्ने ठेकेदार कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत उत्पादन गृहदेखि काँडादल्ली सम्मको बाटो निर्माणका लागि प्रदेश वा आयोजना कसले बाटो बनाउने भन्नेमा सल्लाह भइरहेको छ । सर्वेको काम पुरा भएका कारण सडक निर्माणका लागि बोलपत्र खोल्ने काम मात्र बाँकी रहेको छ । #थाहा खबर#

तपाईको प्रतिक्रिया