१२ श्रावण २०७८, मंगलवार

दैलेखमा दुई लाख बढीलाई कोरोनाविरुद्ध खोप आवश्यक

खोप

दैलेख । दैलेखमा दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाउनुपर्ने देखिएको छ। १८ वर्ष पूरा भएका व्यक्तिहरूको पछिल्लो तथ्यांकलाई आधार मान्दा यो संख्यालाई खोप आवश्यक देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

सरकारबाट प्राप्त भएको कोभिसिल्ड भेरोसेल खोपको पूरा मात्र लगाउनेको सङ्ख्या दैलेखमा हालसम्म ४ हजार २ सय २७ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउनेहरूको सङ्ख्या हालसम्मको अवधिमा ४ हजार २ सय २७ रहेको भए पनि कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका २१ हजार १ सय ७६ जनाले दोस्रो मात्रा लगाउन बाँकी रहेको बताए ।

दैलेखमा हालसम्म कोरोनाविरुद्ध पहिलो र दोस्रो मात्रा लगाउनेको जम्मा संख्या २५ हजार ४ सय ३ रहेको निमित्त कार्यालय प्रमुख रेग्मीले जानकारी दिए ।

जिल्लामा १८ हजार कोरोनाविरुद्ध भेरोसेल खोप आज(सोमबार) आइपुगेको र भोलि (मंगलबार) बाट जिल्लाका ११ वटा स्थानीय तहका प्रत्येक वडाबाट ५५ वर्ष माथिका १८ हजार जनालाई उक्त खोप लगाइने बताए ।

जिल्लामा सङ्क्रमण दर कायमै छ। विशेषगरी रोपाइँ सकिएपछि अधिकांश टोलमा रुघाखोकी र ज्वरोका बिरामीहरू बढेका छन्। बिरामी परेकामध्ये अधिकांशले सामान्य रुघाखोकी भन्दै स्वास्थ्य संस्थामा चेकजाँच गर्न नआउने गरेका कारण समस्या झनै बढ्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्ला प्रशासन, प्रहरी, स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका ११ वटै स्थानीय तहका बजारहरूमा किनमेलका लागि आउने व्यक्तिहरूलाई सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिरहेको छ । अधिकांश स्थानहरूमा लापरबाही भइरहेको देखिन्छ ।