जाजरकोट–डोल्पा सडक : हिउँद बर्खा समस्या उस्तै, यात्रामा सास्ती

जाजरकोट, ७ साउन । हिउँदमा समेत आवतजावत गर्दा जाजरकोट–डोल्पा सडक निकै असजिलो छ । माथिपट्टि भीर पहरा र तलपट्टि ठूलीभेरी नदी । अधिकांश खोलामा पुल नहुँदा डोल्पा, जाजरकोट र रुकुम पश्चिमका यात्रुले विभिन्न सास्ती भोग्दै आएका छन् ।

कहिलेकाहीं बटुवाले समेत यो सडकमा हिँड्दा सास्ती व्यहोर्नुपर्छ । सडक बनेको लामो समयसम्म ठूलीभेरी नदी र अन्य खोलामा पुल नबनाउँदा यात्रुहरू दुःख भोग्न बाध्य छन्  । सडकमा पर्ने खोलाहरू बढ्न थालेपछि दुईपांग्रे सवारीसाधन वारपार गर्नसमेत मुस्किल भएको छ । जाजरकोटबाट सुरु भएको जाजरकोट–डोल्पा सडकको सुरुमै रिम्नामा बाट रुकुम पश्चिम पुग्न मोटरेबल पुल तर्नुपर्छ । त्यसपछि फेरि चिसापानीमा रुकुम पश्चिमबाट जाजरकोट पुग्न मोटरेबल पुल तर्नुपर्छ । यो सडकमा ठूलीभेरी नदीमाथि यी दुई पुल मात्रै बनेका छन् ।

त्योभन्दा माथिको ठूलीभेरी नदी र अन्य खोलामा पुल नबन्दा ३ वटै जिल्लाका बासिन्दालाई सास्ती छ । सडकसँगै पुल नबनेपछि समस्या भएको आठबीसकोटका लंक मल्लले बताए । ‘हरेकपटक यात्रा गर्दा कहिले ठूलीभेरीमा पुल बन्ला भन्ने हुन्छ,’ उनले भने, ‘एक त हिउँदै समस्या छ, बर्खामा त दुःखको कुरै नगरौं ।’ उनका अनुसार वर्षामा राडी र बगराबीचको झोलुंगे पुल, जाजरकोट–नलगाड नगरपालिकाको तातरीगाड र चौखेबजार नजिकको खोलाले यात्रु रोक्छ । त्यसपछि जाजरकोटको नलगाडबाट रुकुम पश्चिमको आठबीसकोट स्थित छोटेबगर पुग्दा अर्को झोलुंगे पुल तर्नुपर्ने उनले बताए । अहिले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ रिजिगाड र दामाचौरखोला पनि चारपांग्रेले तर्न सक्दैनन्  ।

हिउँदमा पनि आठबीसकोटको राडीदेखि जाजरकोटको बगरा र तल्लुदेखि छोटेबगर जोड्ने पुल नबन्दा यातायातका साधनलाई आउजाउमा समस्या छ । यी दुवै ठाउँमा ठूलीभेरी नदीमै पुल बनाउनुपर्ने छ । डोल्पा जोडिन खदाङमा पनि पुल बन्न नसकेको मल्लले बताए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका डिल्लीबहादुर रोकायले सडक खुले पनि ठाउँठाउँमा पिठ्युँमै बोकेर सामान ओसार्नुपर्ने बाध्यता रहेको बताए । ‘हरेक ठाउँमा गाडी फेर्नुपर्छ,’ उनले भने, ‘वर्षामा त भगवान् भरोसामै यात्रा गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार नेपालगन्ज र सुर्खेतबाट सडक बाटो भएर डोल्पा उक्लिनेहरू लामो समयदेखि सास्ती भोग्न बाध्य छन् ।

यो वर्ष डोल्पाको खदाङ–त्रिपुराकोट, छलगाड र रुपागाडमा पुल बनाउन ठेक्का लागेको छ । चौरजहारीस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख नेत्र पौडेलले चालु आर्थिक वर्षमा ती खोलामा पुल निर्माण सकिने दाबी गरे । ‘कोरोना महामारीका कारण काम पूरा हुन सकेन,’ उनले भने, ‘अहिले पुल बनाउन सव स्ट्रक्चरको काम भइसकेको छ ।’ उनका अनुसार जाजरकोटको तल्लु र रुकुम पश्चिमको गोतामकोट जोड्ने पुल नबन्दा यात्रुहरू ठूलो समस्यामा छन् । गोतामकोटका धनबहादुर विकले सबै खोला र ठूलीभेरीमा पुल नबन्दासम्म सडकका दुःख नहट्ने बताए । ‘ठेक्का लागेका पुल समयमै बन्नुपर्ने हो,’ उनले भने, ‘ठेकेदारको लापरबाहीले हामीले सास्ती भोगिरहेका छौं ।’ #कान्तिपुर#

तपाईको प्रतिक्रिया