५ श्रावण २०७८, मंगलवार

ग्रामीण भेगमा नामको मात्रै अनलाईन कक्षा

इन्टरनेटको पहुँच नहुँदा विद्यार्थी पढ्नबाट वञ्चित

1140x725

कालीबहादुर नेपाली
जाजरकोट, ५ साउन । बारेकोट गाउँपालिका–२, रोकायगाउँका भीमबहादुर नेपाली घरबाट अनलाइन कक्षा पढ्न खलंगा आएका छन् । भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा वि.एड. दोस्रो समेस्टरमा अध्ययनरत उनी गाउँमा इन्टरनेट सुविधा नभएपछि अनलाइन कक्षाकै लागि बजारमा डेरा लिन बाध्य भएका हुन् । ‘उता क्याम्पसमा अनलाइनबाट पढाइ भइरहेको छ, हाम्रो गाउँमा नेट लाग्दैन,’ उनले भने, ‘त्यही भएर बजारमा आएर पढ्नु परेको हो ।’ कोरोनाको डरले एक महिनाअघि घर गए पनि घरमा बस्न नपाएको उनले बताए ।

अहिले कोरोना महामारीको कारण विभिन्न विद्यालय र कलेजले वैकल्पिक शिक्षाका रूपमा अनलाइन कक्षा चलाइरहेका छन् । तर जाजरकोटका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा विद्यार्थी पढ्नबाट वञ्चित भइरहेका छन् । त्यस्तै मध्येका अर्का एक विद्यार्थी कुश गाउँपालिका १ अर्छानीका अनिल विसीले कोरोना महामारीमा वैकल्पिक शिक्षाको थालनी भएपनि आफूहरूलाई झन् सास्ती हुने गरेको बताए । नेपालगञ्जको एक कलेजमा सी.एम.ए. अध्ययनरत उनले घरमा इन्टरनेट नभए पनि सदरमुकाममा भाडाको कोठामा बस्न बाध्य छन् । ‘उता पढाइ सुरु भइहाल्यो, पढिएन भने पछाडि परिन्छ, कोर्ष अघि बढिसक्छ,’ उनले भने, ‘त्यही भएर दोहोरो खर्च भए पनि पढ्नुपरेको छ ।’

इन्टरनेटको पहुँच भएका सहरतिरका विद्यालय र कलेजले अहिले अनलाइन कक्षा सुरु गरेका छन्  । ती ठाउँमा अध्ययनरत दुर्गमका विद्यार्थी भने सास्तीमा छन् । विद्यालय बन्द भएको मौकामा घर आएको र त्यही बेला अनलाइनबाट पढाइ सुरु हुँदा समस्या भएको विसीले बताए । उनका अनुसार सहरमा कोरोको दोस्रो लहर सुरु भएपछि त्यसबाट जोगिन धेरै विद्यार्थी घर आएका थिए । अहिले कोरोना लहर कम नभए पनि विद्यालय र कलेजले भने अनलाइनबाट पढाइ सुरु गरिसकेका छन् । ‘उता (सहर) तिर जाउँ भने कोरोनाको डर छ, घरमा नेटको सुविधा छैन,’ उनले भने, ‘अब महँगै भए पनि सदरमुकाम बसेर पढ्नुको विकल्प छैन ।’ नेपालगन्जतिर जाने तयारी भए पनि कोरोनाको कहर झन् बढ्ने त्रासले यतै रोकिएको उनले बताए ।

सहरतिर पढ्न गएका अधिकांश विद्यार्थी कोरोनाको डरले गाउँ फर्केका छन् । तीमध्ये केही विद्यार्थी सदरमुकाममा आएर पढे पनि धेरैजसो विद्यार्थी गाउँमै बसिरहेका छन् । घरको काम गर्ने, गाईभैंसी चराउने काममै दैनिकी बितिरहेको छ । बारेकोट गाउँपालिका १ रामीडाँडाका नन्दलाल विकले बजारमा कोही नहुँदा पढाई छुटिरहेको बताए । ‘अरु साथीहरूले कोर्स धेरै अघि बढिसक्यो भन्छन्, आफू त गाउँमै खाली हात बस्नुपरेको छ,’ उनले भने, ‘कोरोना कम भयो भने जानुपर्ला, नत्र पढाइ यस्तै भयो ।’

जाजरकोटका विद्यालयमा भने अनलाइनबाट पढाइसमेत भएको छैन् । यसले अभिभावकलाई चिन्तित तुल्याएको छ । नलगाड नगरपालिका ३ का नन्दलाल वलीले २ वर्षदेखि बालबच्चाको पढाइ बिग्रिएको गुनासो गरे । ‘पढाइ भन्ने कुरा त बिर्सिसके होलान् जस्तो छ, घरमा पनि पढ्ने कुरा भएन,’ उनले भने, ‘यस्तै हो भने त छोराछोरीको भविष्य अँध्यारो हुने भयो ।’ पढाइ नहुँदा छोराछोरीहरू वनमा ऐसुल टिप्ने, गाईभैंसी चराउने काममा व्यस्त हुने गरेका उनले बताए ।

श्री मावि जुनीचाँदेका शिक्षक प्रविन विकले भने सहरका विद्यालयमा भर्ना भएका, तर गाउँमा इन्टरनेटको पहुँच नभएका क्षेत्रका विद्यार्थी थप मारमा परेका बताए । जिल्लाका विद्यालयमा अध्ययनरतहरू भने सबैका अवस्था उस्तै भएको भन्दै चित्त बुझाउने गरेका उनको भनाइ छ । ‘सहरका विद्यालयले २–४ जना दुर्गममा बस्ने विद्यार्थीको लागि पढाइ रोक्ने कुरा भएन, सँगैका विद्यार्थी धेरै अघि बढिसकेका हुन्छन्,’ उनले भने । अनलाइन कक्षालाई सरकारलाई प्राथमिकता दिए पनि जाजरकोटको सदरमुकाममा समेत ईन्टरनेटले राम्रो काम नगरेको जानकारहरु बताउँछ । उनीहरु भन्छन्, ‘नामको मात्र अनलाईन कक्षा भयो, नानीवावुहरुले राम्रो संग पढ्न समेत पाएका छैनन् ।’