२९ असार २०७८, मंगलवार

कर्णाली सरकारले छुट्यायो तीन करोड २७ लाख जोखिम भत्ता


सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने कर्मचारीलाई जोखिम भत्ता दिन तीन करोड २७ लाखभन्दा बढी रकम छुट्याएको छ।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शवबाहन चालकलाई दिइने जोखिम भक्ताका लागि तीन करोड २७ लाख ८३ हजार ४८७ रुपैयाँ निकासा गरेको हो।

जसमध्ये प्रदेश अस्पताललाई ३८ लाख ६१ हजार १५२, प्रदेश आयुर्वेद औषधालयलाई पाँच लाख ३३ हजार ९५०, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई २६ लाख २० हजार २०० र मेहलकुना अस्पताललाई आठ लाख ९३ हजार रुपैयाँ छुट्याइएको छ।

त्यस्तै, स्वास्थ्य सेवा कार्यालय सल्यानलाई ३५ लाख, जाजरकोटलाई २३ लाख ५५ हजार २९०, मुगुलाई ३१ लाख १९ हजार ११६, दैलेखलाई ५३ लाख ३८ हजार १८०, रुकुम पश्चिमलाई १७ लाख आठ हजार ७७५, हुम्लालाई ३५ लाख सात हजार ३०० र डोल्पालाई १५ लाख चार हजार ६८० रुपैयाँ निकासा भएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए।

यसअघि असार १६ गते कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शवबहान र एम्बुलेन्स चालकलाई तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जोखिम भक्ता उपलब्ध गराउन सम्बन्धित जिल्ला र अस्पतालहरुलाई रकम निकासा दिइएको हो। यसैबीच सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कोरोना नियन्त्रणमा फ्रन्टलाइनरले गरेको कामको उच्च मूल्यांकन गर्दै सम्मान र प्रोत्साहन स्वरुप रकम उपलब्ध गराएको हो।