
खलंगा, २८ असार । अविरल वर्षासँगै आएको पहिरोले आइतबार बिहान भेरी नगरपालिका –२ बाँसपानीका पाँचवटा घरमा क्षति पु¥याएको छ ।
दर्जनभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । १३ घरधुरीले मानिसहरू घर नै छाडेर नजिकै रहेको त्रिभुवन आधारभूत विद्यालयमा बास बस्न बाध्य भएका छन् । पहिराले कृष्ण विक, काली कामी, नरजीत वली, वलवीर विक र ठेरो कामीको घरमा क्षति पुगेपछि उनीहरू अहिले विद्यालयमा आश्रय लिन पुगेका स्थानीय बिर्खबहादुर कार्कीले बताए ।
पहिरो पीडितहरूले आफूहरूको दुःखमा साथ दिन स्थानीय सरकार र सरोकारवालाहरूले चासो नदिएको गुनासो गरेका छन् । सदरमुकामबाट आधा घण्टा दूरीमा पहिरो गएर क्षति हुँदासम्म स्थानीय सरकार र अन्य सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयबासी नरजीत ओलीले बताए ।
पहिरोबाट पीडित भएका परिवारहरूलाई सबैले सक्दो सहयोग गरेर सुरक्षित बास व्यवस्थापनमा सहयोग गर्न जरुरी रहेको भेरी नगरपालिकाकी प्रवक्ता पार्वती विकले बताइन्। कार्यपालिकाको बैठक राखेर केही आवश्यक निर्णय लिइने उनको भनाइ छ ।
सडक निर्माणले निम्त्यायो विपत्ति
सालघारी–तिलिङ्गे सडक निर्माण गर्दा भूभाग कमजोर भएकै कारण अहिले पहिरो चलेको स्थानीयले बताएका छन् ।
गाउँमाथि सो सडक निर्माण गरिएका कारण पहिरो आएको र एकै ठाउँमा २ वटा सडकका मोडहरू भएका कारण जमिन कमजोर भइ पहिरो आएको स्थानीय बिर्खबहादुर कार्कीले बताए ।
















































। २८ असार २०७८, सोमबार