वडाध्यक्ष नेपालीको पहलमा विपन्न परिवारलाई सोलार वितरण


खलंगा, २८ असार । कुशे गाउँपालिका १ का ६५ जना विपन्न परिवारलाई सोलार वितरण गरिएको छ । विद्युतीकरण नहुँदा स्थानीयबासी वर्षौदेखि अँध्यारोमा बसेको भन्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निःशुल्क सोलार वितरण गरिएको हो । केन्द्रले झण्डै १८ हजार रुपैयाँका ८० वाट क्षमताका सोलार वितरण गरेको छ ।

सोलार पाएपछि वर्षौदेखिको अँध्यारोबाट मुक्ति पाएको स्थानीयको भनाइ छ । ‘वर्षौदेखि सल्लाको दियालो बालेर रात गुजारिरहेका थियौं,’ स्थानीय भक्तबहादुर चलाउनेले भने, ‘आजभोलि गाउँ झिलिमिली बनेको छ ।’ उनका अनुसार वितरण गरिएका सोलारबाट ५ वटा बल्ब बाल्न सकिन्छ ।

सल्लोको झर्रोबाट वर्षौपछि मुक्ति पाइएको स्थानीय भीमबहादुर सिंहले बताए  । ‘दियालोको लागि सल्लाको झर्रो प्रयोग गर्दा एकातिर वन विनास भएको थियो, अर्कोतिर हामी रोगी बनेका थियौं,’ उनले भने्,‘ बिजुली नबले पनि सोलारले गाउँ झलमल्ल बनेको छ ।’ उनका अनुसार वर्षौदेखि सल्लाको दियालो प्रयोग गर्दा गाउँका अधिकांश बासिन्दा दम, खोकी, आँखा दुख्ने लगायत समस्याका बिरामी छन्  ।

सोलार किन्ने रकम नहुँदा विपन्न नागरिक लामो समयदेखि परम्परागत ऊर्जाकै भरमा थिए । क्शे गाउँपालिका १ का वडाध्यक्ष गोपाल नेपालीको पहलमा विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । अनलाई दर्खास्त बाट फारम भरी जनतालाई निशुल्क सोलार वितरण गरिएको अध्यक्ष नेपालीले बताए । ९० प्रतिशत जनताको घरमा सोलार पुगेको र १० प्रतिशत जनता बाँकी रहेकोले अव कतै बाट पहल गरी उनीहरुलाई पनि वितरण गर्ने उनको भनाई छ ।

दुर्गमको गाउँका अधिकांश घरमा सोलार बलेपछि स्थानीयको दैनिकी सहज बनेको वडाध्यक्ष नेपालीको भनाई छ  । उनका अनुसार सोलारले बालबालिकाको पढाइमा पनि सुधार ल्याउने आशा छ । ‘महिलालाई वनबाट दिनहुँ सल्लाको झर्रो ल्याउने बाध्यताबाट मुक्ति पाएका छन्,’ उनले भने, ‘बिजुली नहुँदा सम्साँझै सुनसान हुने गाउँमा चहलपहल बढेको छ ।’ सोलार वितरणपछि वन संरक्षणमा पनि टेवा पुग्ने उनको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया