निर्वाचन आयोगले भन्यो–‘माओवादी केन्द्र वैधानिक छ’


काठमाडौं । नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठहर गरेको छ । आइतबार बसेको आयोगको बैठकले माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको छ । केहि दिन पहिला माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्वमाओवादीको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो ।

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरेका थिए । आजको बैठकले ती सबै दाबी गलत भएको र माओवादी केन्द्र वैधानिक रहेको जानकारी दिएको छ ।

आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको जानकारी दिएका छन् । आयोगले पूर्वमाओवादी नेताहरूको दावीलाई अस्वीकार गरेको हो ।

त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ । पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय भएकोसमेत आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया