गुमनाम युवाको समिक्षा : ‘देश उत्तानो, जनता सडकमा नेता महलमा’


समस्यै समस्याले थिलो– थिलो परेको देशको वर्तमान परिवेश निहाल्ने क्रममा आफ्नै जीवन कथा बारम्बार जोडिएर आउँछ । कुरा जुन १८ तारिख २००६ सालको कुरा हो । म त्यति बेला २५ वर्षको लक्का जवान थिए । जुन बेला संयोगवस, मैले फिलिपिन्सको राजधानी मनिलामा ३५ वटा देशहरुको लागि अर्गनाइज भएको लिडरसिप सेमिनारमा भाग लिने मौका पाएको थिए ।

जुनबेला देशमा १० वर्षे जनयुद्ध चलेको थियो यसै बिचमा हजारौं जना हाम्री चेलीबेटीको सिन्दुर र आमाको काख रित्तो भएको थियो । जुन १८ तारिख २००६ को ११ ः ३४ मिनेट समय थियो होला यसैबिचमा संकटकालिन देशको निम्ति प्रार्थना गर्ने प्रस्ताव राखियो । ३४ वटा देशका प्रतिनिधिले आ–आफ्नै समस्या राख्ने क्रममा मैले देशको द्वन्द्वकालिन अवस्थाको विषयमा राखे किनकी फिलिपिन्स ९९% येशुखी्रष्ठमा विश्वास राख्ने देश हो ।

यस्को नेतृत्व अमेरिकी नागरिक डाक्टर लन एल्सनले गर्नु भएको थियो उक्त सेमिनारमा मैले आफ्नो देशको प्रार्थनाको विषय राख्ने क्रममा एउटा वाक्यांशको उठान भयो त्यो थियो “नेपालको लागि प्रजातान्त्रिक शासन व्यवस्था पचेन यानकी, “बाँदरको हातमा नरिबल भयो ।” जुन शब्दले सेमिनार नै उथल पुथल भैइरहदा एक विषयवस्तु नै बन्यो जुन कुराले मलाई रिस उठाएको थियो वास्तविक रुपमा साँचो थियो । वर्तमान अवस्थामा जब – जब देशमा राजनीति अवस्था बिग्रन्छ त्यो सम्झना कथाको रुपमा मेरो जिन्दगीमा घचघच्याइरहन्छ ।

हे दैव ! देश कोरोना महामारीले आक्रन्त परेको बेला, वैदेशिक ऋणमा चुर्लुम्व डुबेको बेला, भ्रष्टाचार, विकृति, विसङ्गती बढी रहेको बेला, झण्डै ५.५ मिलियन विश्वको मुलूकमा छरिएर प्रवासी जीवन व्यतीतका साथै जिन्दगी जिउनको लागि विभिन्न सपनाका निम्ति तातो गर्मी र कठ्याङ्गरिदो जाडोमा रगत र पसिना एक गरेर जीवन बिताइरहेका बेला, धर्म सस्कृतीको पहिचान मेटिदै गर्दा, हाम्री छोरी तथा चेलिबेटीहरु बलात्कार हुँदै गर्दा, देशका प्राकृतिक श्रोत र साधनको चरम दुरुपयोग हुँदै गर्दा, न्यायलय न्याय बिहीन हुँदै गर्दा तथा केही सीमित नेताको नाममा र सीमित झोले बहादुरहरु आफैले आफुलाई इलाइटको ट्याग जुन्ड्याएर चोकमा भाषण दिएको भरमा मेरो र तेरो पार्टीको बहसले हामी र हाम्रो देश कतातिर जादैछ होला ?

विश्व परिवेशको बदलिँदो अवस्थाप्रति ध्यान नदिएर आफुलाई महाराज सम्झिने र राजनीति पार्टीको नाममा नागरिक झुक्याएर आफु र आफ्नो परिवारको दुनो सोझ्याउने प्रभुहरु ! देश सगरमाथाको शिखरमा पुर्याएको दाबी गर्छन् । अर्कोतिर कार्यकर्ताहरु यतिसम्म अन्धाभक्त भएकी नागरिकको करले विकास गर्दापनि नेताले आफ्नै व्यक्तिगत लगानीमा गरेको जस्तो गरेर नाक फुराएको देख्दा हाँसो उठेर आउँछ । हामी नागरिकको करको पैसा हो र हाम्रो पैसाको हामी नै पारदर्शी र जवाफदेही हुनुपर्छ भन्नेसम्म भुलेर चाकरीको माध्यमले करको दुरुपयोग गरि श्रीमती को पेटिकोट र सारी किनेर जीवन निर्बाह गर्दा लाज लाग्दैन होला ?

नागरिकले के सम्म गरेनन् ? भोट हालेर जिताए, जागिरे बनाइदिए त्यो पनि नपुग्ला भ्रष्टाचार गर्न पनि छुट दिए, अझै नपुग्ला भनेर उपभोक्ता समितिको नाममा सौदाबाजी गर्न लगाएर भेडाहरु खरिद बिक्रि व्यापारमा छुटसम्म गरिदिए । तर नागरिकलाई यो थाहा भएन कि हामीले उठाएको कर र हाम्रो थाप्लोमा आउने ऋण ल्याएर विकास गर्दैछौं ।

जवाफदेही र पारदर्शीताको निम्ति खवरदारी गर्नुपर्ने हामी नागरिकको कर्तव्य हो । संविधान प्रदत्त प्राप्त अधिकारले सम्मानित शब्द “सार्वभौमसत्ता सम्पन्न नागरिक” व्यवहार त रैती देखि माथी उठ्न नसकेको अवस्था देखियो ।

देशको राज्य व्यवस्था परिवर्तनको निम्ति ७ दशक यता थुप्रै राजनिती परिवर्तनका नाम देखिन्छ । १०४ सालको निरुम्कुश जहाँनिया राणा शासनको अन्त्य, २००७ सालको प्रजातान्त्रको शुरुआत, २०१७ को राजा महेन्द्रको पन्चायत , २०३७ सालको जनमत संग्रह, २०४६ सालको बहुदलिय प्रजातन्त्र, दश वर्षे जनयुद्ध तथा २०६२÷०६३ को महान जनआन्दोलन पश्चात् २४० वर्षको ऐतिहासिक राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको शुरूवात भएको देखिन्छ । यिनै राज्य व्यवस्था परिवर्तनका लागि कयौं नेपालीहरुले बलिदान गरे ।

राज्यसत्ता कयौं फेरिए न देशको व्यवस्था बदलियो नत संस्कार नै । देशका होनाहार युवा पुस्ता वैदेशिक रोजगारले घर र रेमिटेन्सले देश चलाइदिए । तिनै सामन्तको नामले चिर परिचित राजाहरु र राणाहरुको पालामा निर्माणधीन भवनमा बसेर राज्यसता चलाइदिए, बासबारी जुता कारखाना, चिनी कारखाना, जुट मील, सिमेन्ट उद्योग, कस्ता कल कलकारखानाहरु बन्द गरिदिए ।

देशको प्राकृतिक श्रोत र साधनको पनि तहसनहस गरी बिक्री बेतानतिर लागे । महाकाली,लिपुलेख, लिम्पियाधुरा बेचिदिए । शिक्षा, स्वास्थको क्षेत्रमा दलालीकरण र माफियाको हालिमुहाली रह्यो । आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण सपनामै सीमित रह्यो, न्याय ओझेलमा पर्यो, देशको अर्थतन्त्र धराशायी भयो, वैदेशिक ऋणले टुपी नाघ्यो, शान्ति क्षेत्रमामा खलल, नागरिकहरुलाई निराशाको भुमरीमा तथा सहिद परिवारको अवस्था बेहाल ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले सार्वभौमसत्ता सम्पन्न नागरिकको ट्याग लगाइदियो । मुठीभरका केहि व्यक्ती, आशेपासे, झोले चुल्ठे, ट्यापे, टपरटुया, गुन्डा, सडक छाप नेता र उनीहरुको चाकरीवाला बने सेवा सुबिधाले भरिपुर्ण र स–सम्मानित भए । देशको संविधानलाई आफ्नो विचारले व्याख्या गरे, विधीको शासनको लागू गरेनन्, आफै व्यवस्था बनाए आफैले व्यवस्थालाई स्वतस्फूर्त चल्न दिएनन्, त्यही भोग, शोक, गरिबी, शिक्षा, स्वास्थ्यको अभाव, भ्रष्टाचार, अन्याय, अत्याचार तिनै सार्वभौमसत्ता सम्पन्न नागरिकको भागमा पर्यो । मलाई २००६ मा विदेशी नागरिकले भनेको कुरा स्मरण हुन्छ ।

राजनीतिक संस्कार नाम निशाना नभएको देशमा सुन्दर प्रजातान्त्रिक शासन व्यवस्थाको दुरुपयोग भएछ । नेपाल र नेपालीको लागि लोकतान्त्रिक गणतन्त्रले मुठ्ठीभराका आशेपासे बाहेक । देश उत्तानो, जनता सडकमा नेता महलमा ।
महेन्द्र जङ्ग पाखे
चन्दननाथ नगरपालिका–६,जुम्ला
कर्णाली प्रदेश, नेपाल ।

तपाईको प्रतिक्रिया